रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि : झलनाथ खनाल


काठमाडौं ।

नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा सत्तामा आएको आरोप लगाएका छन्।

कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले २०६२/६३ को परिवर्तनपछि नेपाली कांग्रेसले निर्वाह गरेको भूमिका अहिले रास्वपाले लिएको दाबी गरे। उनले कम्युनिस्ट शक्तिको मुख्य प्रतिद्वन्द्वी रास्वपा बनेको समेत बताए।

सरकारका आर्थिक नीति, नीति तथा कार्यक्रम र बजेटले तल्लो वर्गको हित नगरी सीमित माथिल्लो वर्गलाई फाइदा पुर्‍याएको खनालको आरोप छ। उनले सरकार सुकुम्बासी, विद्यार्थी, मजदुर र पत्रकारका समस्या समाधान गर्न असफल भएको बताए।

पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजयलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै खनालले नेतृत्वका कमजोरी र कार्यकर्ता तथा समर्थकमा बढेको असन्तुष्टिका कारण यस्तो परिणाम आएको बताए।

उनले विगतका कमजोरी सच्याउँदै सबै कम्युनिस्ट शक्ति एकताबद्ध भएर समाजवादी क्रान्ति र रूपान्तरणको आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिए।