भेरी करिडोर अवरुद्ध हुँदा डोल्पामा ग्याँस र इन्धन अभाव


डोल्पा ।

जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर एक सातादेखि अवरुद्ध हुँदा डोल्पामा खाना पकाउने एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ।

जाजरकोटको नलगाड नगरपालिका–११ चौखास्थित तासुघाट खोलामा आएको बाढीले सडक, ह्युमपाइप र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक बन्द हुँदा डोल्पातर्फ आउने मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

सडक अवरुद्ध भएपछि ग्याँस, पेट्रोल, डिजेललगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। मौज्दात घट्दै गएपछि बजारमा ग्याँस तथा इन्धनको अभाव देखिन थालेको हो।

भेरी करिडोर कार्यालयका अनुसार चौखामा पैदल यात्रु र मोटरसाइकल आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भइसकेको छ भने सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ।

सडक खुलेपछि बाटोमा रोकिएका मालवाहक सवारीसाधन डोल्पा भित्रिएसँगै ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव कम हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले भने वर्षायाममा पटक–पटक हुने सडक अवरोधको दीर्घकालीन समाधानका लागि स्थायी सडक संरचना र पुल निर्माण गर्न माग गरेका छन्।