गरिमा हत्या विरोधमा पथलैयामा प्रदर्शन जारी


सिमरा, बारा ।

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयवासीले बाराको पथलैया चोकमा सडक धर्ना र प्रदर्शन जारी राखेका छन्। स्थानीयले गत बुधबारदेखि प्रदर्शन गर्दै आएका हुन्।

पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द भएपछि प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच विवादसमेत भएको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैया छाडेर सिमरा केन्द्रित आन्दोलन गर्न स्थानीयलाई आग्रह गरेका छन्।

गरिमाको न्यायको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकको सिमरा क्षेत्रमा टेन्ट टाँगेर प्रदर्शन गरिरहेका छन्। बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँचबुँदे सहमति भए पनि मृतक बालिकाको परिवारले उक्त सहमति अस्वीकार गरेको छ।

यसअघि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै स्थानीयले उनको सरुवाको माग गरेका थिए। प्रहरी प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवा भएपछि प्रशासनसँग पाँचबुँदे सहमति भएको थियो।

तर मध्यरातमा भएको सहमतिमा आफूहरूको सहमति नरहेको भन्दै परिवारले आन्दोलनलाई निरन्तरता दिएको हो। बालिकाको शव अझै कलैया अस्पतालमा रहेको छ। परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिकासहित बाराका विभिन्न क्षेत्रबाट स्थानीयहरू प्रदर्शनमा सहभागी भइरहेका छन्।