काठमाडौँ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढी र पहिरोका कारण करिब ६० घरधुरी जोखिममा परेका छन्। सिर्प, डोग्रा र आसपासका बस्तीमा बाढी–पहिरोले जनजीवन प्रभावित भएको छ।
गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार सिर्क र सेती खोलामा आएको बाढीले सिर्प र डोग्राका करिब ६० घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन्। केही घरमा क्षतिसमेत पुगेको छ। बाढीले १५–१६ वटा पानीघट्ट बगाएको जनाइएको छ।
डोग्रा खोला थुनिएर शुक्रबार बिहान करिब २ बजे एक्कासि फुट्दा आएको बाढीमा परी ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका छन्। त्यस्तै, छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापालाई सेती खोलाले बगाउँदा बेपत्ता भएकी छन्। दुवैको खोजी भइरहेको छ।
जोखिममा रहेका परिवारलाई अझै सुरक्षित स्थानमा सार्न सकिएको छैन। सडक तथा बाटो अवरुद्ध हुँदा उद्धार र राहतमा समस्या भएको छ भने खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको स्थानीयले बताएका छन्।
बेपत्ता दुई जनाको खोजीका लागि शनिबार सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ आउँदैछ। गाउँपालिकाले राहत तथा उद्धारका लागि माथिल्लो निकायसँग समन्वय गरिरहेको जनाएको छ।











प्रतिक्रिया