भरतपुर अस्पतालमा अनलाइनबाटै ल्याब रिपोर्ट हेर्न सकिने

0
Shares

भरतपुर ।

भरतपुर अस्पतालले प्रयोगशालाबाट गरिएका परीक्षणको नतिजा अनलाइनमार्फत् हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ। अस्पतालले आफ्नो वेबसाइटमार्फत् बिरामीले घरबाटै प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सक्ने प्रणाली विकास गरेको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने व्यवस्था गरिएको छ। उपचार तथा प्रयोगशालाको शुल्क तिर्दा प्राप्त हुने बिलमै सम्बन्धित बिरामीको युजरनेम र पासवर्ड उल्लेख गरिएको हुन्छ।

बिलमा प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरेर बिरामी वा उनका आफन्तले अस्पतालमा पुनः उपस्थित नभई प्रयोगशाला परीक्षणको नतिजा अनलाइनबाटै हेर्न सक्नेछन्। आवश्यक परे रिपोर्ट डाउनलोड गरी प्रिन्टसमेत गर्न सकिने व्यवस्था गरिएको डा बगालेले बताए।

“बिरामीले रिपोर्ट लिनकै लागि अस्पतालमा आउनुपर्ने बाध्यता हटेको छ,” उनले भने, “वेबसाइटमार्फत् जहाँबाट पनि आफ्नो रिपोर्ट हेर्न सक्ने र आवश्यक परे प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाएका छौँ।”

अस्पतालले बिरामीको सेवा सहज बनाउन थप प्रविधिमैत्री व्यवस्था पनि विस्तार गरेको छ। अस्पताल परिसरमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिनुका साथै प्रयोगशालाको रिपोर्टसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यसबाट ओपिडी टिकट तथा ल्याब रिपोर्टका लागि काउन्टरमा लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता कम हुने अस्पतालको अपेक्षा छ। प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई सहज, छरितो र व्यवस्थित बनाउने प्रयास भइरहेको डा बगालेले बताए।

भरतपुर अस्पतालमा दैनिक करिब तीन हजार ८०० बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन्। बिरामीको संख्या ठूलो भएका कारण टिकट, परीक्षण र रिपोर्ट लिनका लागि अस्पतालमा सेवाग्राहीको चाप हुने गरेको छ। अनलाइन प्रणाली र भेन्डिङ मेसिनको प्रयोगले उक्त चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ।

अस्पतालमा सेवा सुविधा विस्तार हुँदै गएसँगै बिरामीको चापसमेत बढिरहेको डा बगालेले बताए। उनका अनुसार ६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनका अतिरिक्त छिमेकी जिल्लासहित करिब २५ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।

भरतपुर अस्पताल संघीय सरकारी अस्पतालमध्ये महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा रहेको छ। विशेषज्ञ सेवा, आकस्मिक सेवा, प्रयोगशाला तथा विभिन्न उपचार सेवा उपलब्ध हुँदै गएपछि अस्पतालमा बाहिरी जिल्लाबाट आउने बिरामीको संख्या पनि बढिरहेको अस्पतालको भनाइ छ।

यसैगरी स्वास्थ्य बीमामार्फत् सेवा प्रवाह गर्ने अस्पतालका रूपमा पनि भरतपुर अस्पताल अग्रणी मानिन्छ। सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमामार्फत् उपचार सेवा बन्द गरेपछि बीमा सुविधाबाट उपचार गराउन भरतपुर अस्पताल आउने बिरामीको संख्या क्रमशः बढ्दै गएको डा बगालेले बताए।

बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै अस्पतालले भौतिक पूर्वाधारसँगै डिजिटल सेवाको विस्तारलाई समेत प्राथमिकता दिएको छ। अनलाइन ल्याब रिपोर्ट, भेन्डिङ मेसिनलगायतका प्रविधिको प्रयोगले सेवाग्राहीको समय बचत हुनुका साथै अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनले आगामी दिनमा पनि बिरामीलाई सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी आवश्यक सुधारलाई निरन्तरता दिने जनाएको छ।