विशेष महाधिवेशन पक्षलाई कांग्रेस नेताको चेतावनी : ‘अधिवेशन गरे पार्टी विभाजनको प्रक्रिया सुरु हुन्छ’


काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकोप्रति कांग्रेसभित्रबाट गम्भीर आपत्ति जनाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णयमाथि पुनरावलोकनका लागि दिएको निवेदनमा पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति (निस्सा) प्राप्त भइसकेको जनाउँदै प्रा.डा. शशांक कोइरालाले अहिलेको अवस्थामा अधिवेशन वा महाधिवेशन आयोजना गर्नु उचित नहुने बताएका छन् ।

कोइरालाले जारी गरेको अपिलमा पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरिएको छ । विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित भएको भन्दै उनले यस्तो अवस्थामा अर्को पक्षले अधिवेशन वा महाधिवेशन गरे पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने दाबी गरेका छन् ।

उनका अनुसार यसले आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समेत कांग्रेसलाई थप नकारात्मक असर पार्न सक्छ ।

कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षलाई ‘अवैधानिक र विभाजनकारी’ गतिविधि भन्दै त्यस्ता अधिवेशन तथा महाधिवेशन आयोजना नगर्न आग्रह गरेका छन् । साथै पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन् ।

सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा पार्टीभित्रको विवाद थप जटिल बनाउने गतिविधि नगर्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले अपिलको अन्त्यमा पार्टी एकता कायम गर्दै सुदृढ, सबल र गतिशील कांग्रेस निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन् ।