बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफलमा मेयर र आशिकाबीच चर्काचर्की


काठमाडौँ।

बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा आयोजित छलफलमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच भनाभन भएको छ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सिंहदरबारमा काठमाडौं उपत्यकासहित फोहोर व्यवस्थापनबाट प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूसँग छलफल आयोजना गरेका थिए। उक्त बैठकमा सांसद तामाङ पनि सहभागी भएकी थिइन्।

छलफलका क्रममा तामाङ र जनप्रतिनिधिहरूबीच भनाभन भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका जनप्रतिनिधिले उनलाई सम्झाउने प्रयास गरेका थिए। तर, त्यसपछि पनि तामाङ आक्रोशित बनेकी थिइन्।

मेयर महर्जनले तामाङलाई ‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा तामाङले ‘आउनु पर्‍यो नि’ भनेकी थिइन्।

त्यसपछि महर्जनले ‘आउँदै हुनुहुन्छ त’ भन्दै जवाफ फर्काएका थिए। लगत्तै तामाङले ‘बञ्चरेडाँडाका मान्छे होइन ?’ भन्दै प्रश्न गरेकी थिइन्।

सांसद तामाङले बञ्चरेडाँडा क्षेत्रका स्थानीयको समस्या समाधानमा स्थानीय सरकारले अहिलेसम्म आँखा चिम्लिएको आरोप लगाएकी थिइन्। उनले भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै छलफल चलिरहेकै अवस्थामा बैठक छाडेर बाहिरिएकी छन्।