काष्ठमण्डपका नयाँ मूर्ति नहटाउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा राखिएका नयाँ गोरखनाथ र चार गणेशका मूर्ति तत्काल नहटाउन आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुराना मूर्ति खण्डित भएपछि नयाँ मूर्ति प्रतिस्थापन गरिएको विषयमा परेको रिट खारेज गर्दै यस्तो फैसला गरेको हो।

अदालतले धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र ऐतिहासिक तथा पुरातात्विक मौलिकताबीच सन्तुलन आवश्यक रहेको स्पष्ट गरेको छ। प्राणप्रतिष्ठा भइसकेका नयाँ मूर्ति हटाउँदा धार्मिक संवेदनशीलता र द्वन्द्व बढ्न सक्ने भएकाले तत्काल हटाउन आवश्यक नभएको अदालतको ठहर छ।

यद्यपि, अदालतले भविष्यमा यस्ता सम्पदा संरक्षणमा राज्यलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको छ। खण्डित पुराना मूर्तिलाई सुरक्षित रूपमा संग्रहालयमा राख्न, नयाँ मूर्तिमा क्युआर कोड वा डिजिटल माध्यमबाट इतिहास र पुराना मूर्तिबारे जानकारी उपलब्ध गराउन तथा सम्पदाको पुनर्निर्माणअघि ‘सम्पदा प्रभाव मूल्याङ्कन’ गर्ने कानुनी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ।

त्यस्तै, सम्पदाको ३ डी डिजिटल डकुमेन्टेसन तथा ‘डिजिटल ट्विन’ तयार गरी अभिलेख राख्न र पुनर्निर्माणमा कुन भाग मौलिक तथा कुन नयाँ हो भन्ने स्पष्ट खुलाउन पनि अदालतले निर्देशन दिएको छ। भविष्यमा मूर्ति वा सम्पदाको स्थानान्तरण तथा परिवर्तन गर्नुअघि पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद् र स्थानीय समुदाय सम्मिलित उच्चस्तरीय टोलीको सिफारिस लिनुपर्ने आदेशसमेत सर्वोच्चले दिएको छ।

अदालतले राज्य सम्पदाको मालिक नभई संरक्षक भएको भन्दै ऐतिहासिक मौलिकता जोगाउनु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गरेको छ। सम्पदा संरक्षणमा ‘न्यूनतम हस्तक्षेप’को सिद्धान्त अपनाउनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।