काठमाडौँ ।
नवगठित जय नेपाल पार्टीले भदौ र असोजभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको छ।
पार्टीका सभापति डा. धवलशम्सेर राणाको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संगठन विस्तारसँगै विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले भदौभित्र युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन, विभाग र समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णयसमेत गरेको छ।
पार्टीले संविधान संशोधनका क्रममा जनताको सुझावलाई सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने जनाएको छ। संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै, गौहत्या तथा गाईको मासुको खपत रोक्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। राष्ट्रिय जनावर गाईको संरक्षणका लागि सातै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माण गर्न राज्यलाई दबाब दिने पार्टीले जनाएको छ।
पार्टी सदस्यता अनलाइनबाट लिन सकिने गरी भदौभित्र विद्युतीय प्रणाली निर्माण गर्ने तथा पार्टीभित्र प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ।
प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने, समान विचार भएका पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिलाई पार्टीमा आबद्ध गराउन वार्ता समिति गठन गर्ने निर्णयसमेत भएको छ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीबाट उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, स्थिर र समुन्नत नेपाल निर्माणका लागि आवश्यक मार्गचित्र तयार गर्न कार्यदल गठन गर्ने र त्यसका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयका विज्ञ नेपालीको सुझाव तथा परामर्श लिने निर्णय गरिएको पार्टीले जनाएको छ।











प्रतिक्रिया