काठमाडौँ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही र प्रभावकारिताबारे छलफल भएको छ।
सिंहदरबारमा जारी छलफलमा रास्वपा सांसद अमरेशकुमार सिंहले अख्तियारको मर्यादा र प्रभावकारिता कमजोर हुँदै गएको भन्दै आयोगका पदाधिकारीलाई आफ्नो संवैधानिक दायित्व पूरा गर्न आग्रह गरे। उनले आयोगको कमजोरीमा आयुक्तहरूको नियुक्ति, कानुनको अभाव र कार्यकारीको हस्तक्षेप प्रमुख कारण रहेको बताए।
सिंहले मन्त्री वा प्रधानमन्त्रीले बोलाएर अख्तियारका पदाधिकारीलाई निर्देशन दिन नमिल्ने भन्दै आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने धारणा राखे। ‘अख्तियारलाई अख्तियार बन्न दिऊँ, संवैधानिक निकायलाई संवैधानिक निकायकै हैसियतमा काम गर्न दिऊँ,’ उनले भने।
त्यस्तै, कांग्रेस सांसद अर्जुननरसिंह केसीले अख्तियारलाई स्वतन्त्र र निष्पक्ष बनाउने राजनीतिक मानसिकता विकास हुन नसकेको बताए। उनले संवैधानिक संस्थालाई नियन्त्रण गर्ने प्रयास भइरहेको भन्दै अख्तियारलाई स्वायत्त, सशक्त र प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक रहेको बताए।
केसीले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई बोलाएर तर्साइएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै संवैधानिक संस्थाहरूलाई ‘लाचार छाया’ बनाउने प्रयासप्रति आपत्ति जनाए।











प्रतिक्रिया