एक वर्षमा ७ हजार कुखुराको रोग परीक्षण, इकोलाई सबैभन्दा बढी देखियो


काठमाडौं ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गत एक वर्षमा चितवनसहित १६ जिल्लाका करिब सात हजार कुखुराको रोग परीक्षण गरी विभिन्न प्रकारका संक्रामक रोग पहिचान गरेको छ। प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार प्रयोगशालाले रोग परीक्षणसँगै रोगको पहिचान तथा उपयुक्त उपचारका लागि प्राविधिक परामर्शसमेत प्रदान गर्दै आएको छ। उनका अनुसार विस्तृत परीक्षण गरिएका एक हजार ५०० नमूनामा कुखुरामा देखिने १० प्रकारका प्रमुख रोग पुष्टि भएका छन्।

परीक्षणका क्रममा सबैभन्दा बढी २२ प्रतिशतमा इकोलाई (E. coli) संक्रमण देखिएको छ। त्यसपछि १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा क्रोनिक रेस्पिरेटरी डिजिज (सीआरडी) र नौ प्रतिशतमै ढुसीजन्य रोग भेटिएको छ। यस्तै, चार प्रतिशतमा सीसीआरडी, ३.५ प्रतिशतमा साल्मोनेलोसिस तथा एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी (इन्फेक्सियस ब्रोंकाइटिस) र रानीखेत रोगसमेत पुष्टि भएको छ। द्रुत परीक्षणतर्फ २७८ नमूना परीक्षण गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। गम्बारो रोगका लागि गरिएको १७६ नमूनाको परीक्षणमध्ये १०९ वटामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, ७९ नमूनामा रानीखेत रोग परीक्षण गर्दा सात वटामा संक्रमण देखिएको छ भने ४६ नमूनाको आइबी परीक्षणमा दुई वटामा संक्रमण पुष्टि भएको डा. श्रेष्ठले जानकारी दिए। प्रयोगशालाले पिएटी विधिबाट ३६९ नमूना परीक्षण गर्दा १२ वटामा साल्मोनेला, ३६० नमूनामध्ये १६ वटामा माइकोप्लाज्मा संक्रमण फेला पारेको छ। इलाइजा विधिबाट परीक्षण गरिएका १८४ नमूनामध्ये ३८ वटामा माइकोप्लाज्मा तथा ९२ वटामा चिकेन इन्फेक्सियस एनेमिया भाइरस (सीआईएभी) संक्रमण पुष्टि भएको छ। यसैबीच, ९०० नमूनाको ब्याक्टेरियल कल्चर परीक्षण गर्दा ७८९ नमूनामा संक्रमण भेटिएको छ।

संक्रमण पुष्टि भएका नमूनामा कुन एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने विषयमा किसान तथा सेवाग्राहीलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको डा. श्रेष्ठले बताए। उनले कुखुराजन्य रोगको जोखिम न्यूनीकरणका लागि जैविक सुरक्षा (बायोसेक्युरिटी) को कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए। जैविक सुरक्षा मापदण्डको पालना नगर्दा रोगको संक्रमण तीव्र रूपमा फैलिने जोखिम रहने उनको भनाइ छ।