जान्नेको देश, नजान्नेको राज

0
Shares

यो देशमा एउटा अचम्मको परम्परा छ– जो जति जान्दैन, ऊ उति नै ठूलो काम गर्छ । जान्नेले किताब बोक्छ, नजान्नेले देश बोक्छ । जान्नेले ल्याापटप खोल्छ, नजान्नेले बजेट खोल्छ । जान्नेले सफ्टवेयर चलाउँछ, नजान्नेले सरकार चलाउँछ । यो व्यवस्था हेर्दा पहिले हाँसो उठ्छ, पछि रुन आउँछ, र अन्त्यमा– मान्छे चुपचाप बस्छ, किनकि बोलेर के हुन्छ ? बोल्नेको मुख देखेर सत्ता हाँस्छ, अनि चुप बस्नेको पीडा देखेर अँध्यारो मुस्कुराउँछ ।

अँध्यारोको कुरा आयो, त्यसैले प्रविधिको उज्यालोतिर फर्कौं । आजको युग डिजिटल युग हो । संसारका समुन्नत मुलुकहरूले आफ्ना नागरिकलाई घरबाटै सेवा दिइसकेका छन्– जन्मदर्ता होस् वा पासपोर्ट, घर–जग्गा दर्ता होस् वा कर तिर्ने काम, सबै अनलाइन, सबै पारदर्शी, सबै तुरुन्त । एस्टोनियाजस्तो सानो देशले सन् २००२ मै डिजिटल सरकार पूर्ण लागू गरिसक्यो । त्यो देशको जनसंख्या हाम्रो काठमाडौंको जति पनि छैन तर त्यो देशका नागरिक आफ्नो मताधिकार अनलाइनबाटै प्रयोग गर्छन् । यता हाम्रो देशमा सरकारी कार्यालयको कम्प्युटरमा के छ ? धूलो । र, त्यो धूलोमाथि के छ ? थप धूलो । र, त्यो कम्प्युटर किन चल्दैन ? किनकि चलाउने मान्छेले सिक्नुपरेको छैन, सिकेर आएको मान्छेले चलाउन पाउँदैन ।

‘अन्धाको देशमा काना राजा’, यो उखान सदियौँ पुरानो भयो । अब भन्नुपर्छ– ‘डिजिटल देशमा एनालग राजा ।’ एनालग राजाहरूको एउटा विशेष गुण हुन्छ– उनीहरू सब कुरा जान्दछन्, नजानेको केही छैन । इन्जिनियरिङको काम हुँदा इन्जिनियरलाई भन्छन्– ‘खम्बा यहाँ राख, ढोका त्यहाँ राख, यसरी बनाऊ ।’ डाक्टरले बिरामी जाँच्दा भन्छन्– ‘यो औषधि देऊ, त्यो नदेऊ, यसरी उपचार गर ।’ प्रविधिकर्मीले सफ्टवेयर बनाउँदा भन्छन्– ‘यो फिचर राख, त्यो हटाऊ, यसरी बनाऊ ।’ र, ती इन्जिनियर, डाक्टर, प्रविधिकर्मीले के गर्छन् ? टाउको हल्लाउँछन्– ‘हस् सर, हस् मेडम ।’ किनकि टाउको नहल्लाए काम जाने डर छ । काम गए पेट नभरिने डर छ । पेट नभरिए घर नचल्ने डर छ । त्यसैले टाउको हल्लिरहन्छ– देश डुलिरहन्छ ।

डुलिरहेको देशको बजेट बनाउने प्रक्रिया झनै रोचक छ । बजेट बनाउनु भनेको अर्थशास्त्र, तथ्याङ्क, जनसंख्याको आवश्यकता, पूर्वाधारको अवस्था र प्रविधिको दीर्घकालीन लगानीको गहिरो अध्ययन हो– पुस्तकमा यस्तै लेखिएको छ । तर यहाँ ? यहाँ बजेट बन्छ ‘सुनेको कुरा’ र ‘देखेको सपना’को भरमा । जुन क्षेत्रमा आफ्नो मान्छे छ, त्यहाँ बजेट बग्छ, नदीको पानीजस्तै । जुन क्षेत्रमा डिजिटल पूर्वाधार, साइबर सुरक्षा, तथ्याङ्क विश्लेषण वा नागरिक तथ्याङ्क व्यवस्थापनको कुरा आउँछ, त्यहाँ बजेट हराउँछ, पग्लिरहेको हिउँजस्तै । किनकि जुन कुरा बुझिन्न– त्यो कुरामा पैसा लगाउन मन लाग्दैन । र, जुन कुरा बुझिन्छ– फोटो, भाषण, उद्घाटन, त्यहाँ पैसा खन्याइन्छ मनभरि ।

विश्व बैंकको प्रतिवेदनअनुसार नेपालको सरकारी डिजिटल सेवा उपयोगिता दक्षिण एसियामै कमजोर रहेको छ । अनलाइन सेवाको पहुँच भए पनि नागरिकले व्यक्तिगत सिफारिसविना सेवा पाउन झन्झटिलो छ । किनकि प्रणाली त छ, तर प्रणाली चलाउने मानसिकता छैन ।

मानसिकताको कुरा आयो– त्यसैले एउटा ज्वलन्त सन्दर्भको कुरा गरौँ । सरकारी कार्यालयमा एउटा नयाँ सफ्टवेयर प्रणाली लागू भयो । लाखौं खर्च भयो । विदेशी विज्ञ आए, प्रशिक्षण दिए, हाँसे, फोटो खिचे, गए । र, त्यो सफ्टवेयर ? ठीक त्यही कोठामा थन्किएको छ, जहाँ शुरुमा थियो– धूलो ओढेर, माउसको तारमा बेरिएर । किनकि माथिबाट हाकिमको आदेश छ– ‘पुरानो तरिकाले नै गर, कागज नै राम्रो ।’ कागज राम्रो ! सन् १४५० मा गुटेनबर्गले छापाखाना बनाएपछि कागजले जुन क्रान्ति ग¥यो, त्यही कागज अझै यहाँको सरकारी कार्यालयमा अपरिहार्य छ । कागजमा हस्ताक्षर नभए काम हुँदैन । कागजमा छाप नभए फाइल अगाडि सर्दैन । र, कागज हराए ? तब त मानौं ब्रह्माण्ड नै ढल्छ ।

ब्रह्माण्ड ढलेको कुरो होइन– तर नागरिकको समय ढल्छ । एउटा साधारण नागरिकले जन्मदर्ताको प्रमाणपत्र लिन औसत सातपटक सरकारी कार्यालय धाउनुपर्छ– यो व्यङ्ग्य होइन, यो सत्य हो । सातपटक ! मान्छेले सात दिन लगाएर एउटा कागज पाउँछ, जुन कागज डिजिटल प्रणालीमा सात मिनेटमा बन्न सक्थ्यो । र, त्यो सात दिनमा मान्छेले के गुमाउँछ ? समय गुमाउँछ, ज्याला गुमाउँछ र कहिलेकाहीँ त मानवीय मर्यादा पनि गुमाउँछ– ‘सर, प्लिज एकचोटि हेरिदिनुस् न ।’ यो दृश्य हेर्दा मनभित्रबाट एउटा प्रश्नले जन्म लिन्छ– के यो देशको नागरिक सेवा पाउन योग्य छैन ? वा यो देशको व्यवस्था सेवा दिन सक्षम छैन ?
घोडालाई पानी भएको ठाउँसम्म लैजान सकिन्छ, तर पिउन बाध्य पार्न सकिँदैन । नेपालमा भने समस्या अर्कै छ– घोडा पानीको छेउमै उभिएको छ, तर हाकिमले फाइलमा सही नगरेसम्म पानीसमेत पिउन पाउँदैन ।

फाइलको कुरा गर्दा, साइबर सुरक्षाको एउटा महत्त्वपूर्ण अध्याय छुट्छ, जुन छुटाउन हुँदैन । डिजिटल अपराध– यो शब्द सुन्दा थाहा छैन भन्नुहुन्छ हाकिम साहेब, किनकि ‘डिजिटल अपराध’ बुझ्नलाई पहिले डिजिटल बुझ्नुपर्छ– त्यो बुझाइ नै छैन । त्यसैले जब सरकारी डेटा ह्याक हुन्छ, जब नागरिकको गोपनीयता गुम्छ, जब सरकारी वेबसाइट ठप्प हुन्छ– तब प्रतिक्रिया के आउँछ ? ‘कम्प्युटर जानेकोलाई बोलाऊ ।’ उसलाई बोलाइन्छ, ऊ ठीक गर्छ । र, फेरि त्यही हाकिम बस्छ– यसपटकको हमलाबाट केही नसिकी, अर्को हमलाको प्रतीक्षामा । यो साइबर सुरक्षा होइन– यो साइबर भाग्यमानी हो ।

नेपालमा राष्ट्रिय साइबर सुरक्षा नीति छ । तर नीति बनाउने र नीति बुझ्नेबीचमा यति ठूलो खाडल छ कि त्यो खाडलमा पुरै साइबर विभाग हराउँछ । नीतिको किताब दराजमा मात्र छ– सुसज्जित, धूलो नलागेको, अपठित ।

अपठित किताबको कुरा आयो– त्यसैले पढेका मान्छेको पनि कुरा गर्नुपर्छ । यहाँ पढेका मान्छे छन्– एसएलसी, आईए, बीए, कहिलेकाहीँ एमए पनि । परम्परागत शिक्षामा उत्तीर्ण, तामझामसहित । तर यो पढाइ र डिजिटल साक्षरताबीचमा आकाश–जमिनको अन्तर छ । किताबमा अक्षर पढ्न सक्नु र स्क्रिनमा डेटा पढ्न सक्नु– यी दुई फरक संसार हुन् । कम्प्युटरमा एउटा पत्र टाइप गर्न– ‘सहयोगी बोलाऊ’, एउटा प्रस्तुतीकरण बनाउन– ‘कम्प्युटर विज्ञान पढेको कोही छ कि ?’ इमेल खोल्दा– ‘यो संलग्न दस्तावेज के हो ?’ यी प्रश्नहरू सुन्दा हाँसो उठ्छ– तर यी प्रश्न गर्ने मान्छेहरू लाखौंको बजेट पास गर्छन्, करोडौंको योजना बनाउँछन् र अर्बौंको देश चलाउँछन् । विज्ञानको भाषामा भन्नुपर्दा– यो ‘आगत–निर्गत बेमेल (इन्पुट–आउटपुट मिसम्याच) को सबैभन्दा ठूलो राष्ट्रिय उदाहरण हो ।

राष्ट्रिय उदाहरणको कुरा गर्दा, ‘सर्जरी’ को एउटा रूपकको कल्पना गरौँ । एउटा मान्छेलाई मुटुको अपरेसन गर्नुपरेको छ । शल्यचिकित्सक तयार छन्– अनुभवी, प्रशिक्षित, उपकरणसहित । तर अपरेसन थिएटरमा एउटा अर्को मान्छे पनि देखिन्छ– नेताको टोपी लगाएको, फूलमाला बोकेको, जसले भन्छ– ‘यहाँ किन काट्या, त्यहाँ किन टाँक्या, मैले टेलिभिजनमा हे¥या थिएँ ।’ यो सुन्दा हास्यास्पद लाग्छ– होइन ? तर यस्तै दृश्य इन्जिनियरिङ साइटमा हुन्छ, प्रविधि विभागमा हुन्छ, शिक्षा मन्त्रालयमा हुन्छ– जहाँ जान्नेलाई नजान्नेले दिशानिर्देश दिइरहेको हुन्छ । र, जान्नेले ‘हस्’ भनिरहेको हुन्छ । नेपोटिज्म, क्रोनिज्म र अहंकारको यो त्रिकोणले देशको प्रविधि विकासलाई त्रिशङ्कु बनाइदिएको छ ।

मान्छेको अर्को विशेष कला हुन्छ– कार्यक्रममा भाग लिनु । उद्घाटन कार्यक्रम होस् वा समापन, राष्ट्रिय दिवस होस् वा अन्तर्राष्ट्रिय सम्मेलन– यो मान्छे सधैँ अगाडिको कुर्सीमा हुन्छ । माइक आयो कि भाषण तयार छ– ‘प्रविधिले देश बदल्छ,’ ‘डिजिटल नेपालको सपना,’ ‘युवाहरूले प्रविधि सिक्नुपर्छ ।’ ताली बज्छ । फोटो खिचिन्छ । अखबारमा छापिन्छ । अनि भोलिपल्ट ? ती युवाहरू जसले प्रविधि सिके, जसले सफ्टवेयर बनाए, जसले डेटा विश्लेषण गरे– उनीहरू बेरोजगार छन् वा विदेश उड्ने तयारीमा छन् ।

निर्देश दिने मान्छेको अर्को विशेष कला हुन्छ– कार्यक्रममा भाग लिनु । उद्घाटन कार्यक्रम होस् वा समापन, राष्ट्रिय दिवस होस् वा अन्तर्राष्ट्रिय सम्मेलन– यो मान्छे सधैँ अगाडिको कुर्सीमा हुन्छ । माइक आयो कि भाषण तयार छ– ‘प्रविधिले देश बदल्छ,’ ‘डिजिटल नेपालको सपना,’ ‘युवाहरूले प्रविधि सिक्नुपर्छ ।’ ताली बज्छ । फोटो खिचिन्छ । अखबारमा छापिन्छ । अनि भोलिपल्ट ? ती युवाहरू जसले प्रविधि सिके, जसले सफ्टवेयर बनाए, जसले डेटा विश्लेषण गरे– उनीहरू बेरोजगार छन् वा विदेश उड्ने तयारीमा छन् । किनकि उनीहरूको ज्ञानको कदर गर्ने मान्छे– न भाषण गर्नेको ठाउँमा छ, न भाषण सुन्नेको ठाउँमा छ ।

ठाउँको कुरा गर्दा– जनता पनि कम रोचक छैन । जनता पनि अजब प्राणी हो यहाँ । जसले भाषण गर्छ, जसले फोटो खिचाउँछ, जसको अनुहार पोस्टरमा छ– उसलाई माया गर्छ, भोट दिन्छ, माला पहिराउँछ । जसले प्रविधि बनाउँछ, जसले पुल डिजाइन गर्छ, जसले रोग निको पार्छ– उसलाई ‘कर्मचारी’ भन्छ । मनोविज्ञानमा यसलाई ‘प्रभामण्डल प्रभाव’ भनिन्छ– अनुहार सुन्दर देख्यो कि, मीठो बोली सुन्यो कि, मान्छे सोच्छ– ‘यो मान्छे सबथोक जान्दछ ।’ यो भ्रम टुट्न वर्षौं लाग्छ र जब टुट्छ, तब फेरि अर्को सुन्दर अनुहार आइसकेको हुन्छ, मीठो बोली लिएर । चक्र जारी रहन्छ ।

‘गोरु हरायो, खोज्दैन, बाच्छो देख्यो कि, त्यसैको पछि दौडिन्छ ।’ प्रमाणित क्षमतालाई बेवास्ता गरेर देखावटी वाक्पटुताको पछि लाग्ने बानी हाम्रो समाजमा यति गहिरिएको छ कि अब यो कमजोरी होइन, परम्पराजस्तै देखिन थालेको छ ।

दर्जाको कुरा गर्दा– असली दर्जा त ज्ञानको हुनुपथ्र्यो । इन्जिनियरको, डाक्टरको, वैज्ञानिकको, प्रविधिकर्मीको । तर यहाँ दर्जा ओहोदाको हुन्छ, कुर्सीको हुन्छ, माइकको हुन्छ । माइक जसको हातमा छ– सत्य उसकै हुन्छ । र, माइक जसको हातमा छैन– ऊ जतिसुकै जानकार भए पनि, ऊ जतिसुकै अनुभवी भए पनि– ऊ ‘कर्मचारी’ मात्र हो, ऊ ‘तलबदार’ मात्र हो । यो व्यवस्थाले गर्दा देशको सबैभन्दा ठूलो क्षति भएको छ– प्रतिभा पलायन । ‘ब्रेन ड्रेन’– मस्तिष्क उड्ने यो महामारी । यो कुनै अचानक आएको रोग होइन । यो त्यही दीर्घकालीन उपेक्षाको फल हो, जसमा जान्नेलाई ठाउँ दिइएन, र नजान्नेलाई सिंहासन दिइयो ।

सिंहासनमा बसेर उडिरहेको जहाज कसरी उड्छ भनी जान्नु जरुरी छैन तर जहाजको उद्घाटन गर्न हाजिर हुनै पर्छ । अस्पतालमा एमआरआई मेसिन कसरी काम गर्छ भनी जान्नु जरुरी छैन तर उद्घाटनमा रिबन काट्न हाजिर हुनै पर्छ । डेटा सेन्टर के हो भनी जान्नु जरुरी छैन तर भाषणमा ‘डिजिटल नेपाल’ भन्न हाजिर हुनै पर्छ । रिबन काट्ने हात सधैँ तयार हुन्छ– देश बनाउने हातचाहिँ खाली बस्छ । जान्नेलाई किनारा लगाउने देशमा अन्ततः नजान्नेहरू नै विज्ञ बन्छन् र एक–अर्कालाई कसरी देश चलाउने भनेर सिकाउँछन् ।

निर्देश दिनेहरू र लिनेहरूको यो अन्तहीन नाटकलाई बन्द गर्ने एउटै साँचो छ । त्यो साँचो जनताको हातमा छ । जनताले जब ‘यो मान्छेले के जान्यो, के ग¥यो, के गर्न सक्छ ?’ भनेर सोच्न थाल्छ, अनुहार नहेरी काम हेर्छ, बोली नभएर प्रमाण हेर्छ– त्यो दिन पक्कै यो देशको ताल बदलिन्छ । प्रविधिले मात्र देश बदल्दैन– प्रविधि बुझ्ने, प्रविधिलाई सम्मान गर्ने र प्रविधिकर्मीलाई योग्य ठाउँ दिने मानसिकताले बदल्छ । त्यो दिनको प्रतीक्षामा, एकदिन जान्नेको राज आउने प्रतिक्षामा यो देशका जान्नेहरू छन्– आधा विदेश उड्दै, आधा यहीँ बसेर, अझै आश नमारी, अविचल धैर्यका साथ ।
(लेखक गौतम प्रविधि विशेषज्ञ एवं स्वतन्त्र विश्लेषक हुनुहुन्छ ।)