काठमाडौँ।
नेपाली र नेपालभाषाका अग्रणी स्रष्टा जनकवि दुर्गालाल श्रेष्ठको मङ्गलवार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिएको हो । गृहमन्त्री सुदन गुरुङको पहलमा उहाँलाई राष्ट्रिय सम्मान दिने निर्णय भएको थियो ।
उहाँको अन्त्येष्टिमा गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा चर्चित गायिका आनी छोइङ डोल्मालगायत साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
श्रेष्ठको निधनसँगै नेपाली साहित्यले केवल एउटा कवि गुमाएको छैन, नेपालभाषा र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । कविता, गीत, बालसाहित्य, नाटक तथा नेपालभाषाको प्रवद्र्धनमा उहाँको योगदान करिब सात दशक लामो रह्यो । मदन पुरस्कार गुठीले पनि उहाँलाई नेपालभाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मय समृद्ध बनाएको योगदानका लागि ‘जगदम्बा–श्री’बाट सम्मानित गरेको थियो ।
दुर्गालाल श्रेष्ठको जन्म सन् १९३५ जुलाईमा काठमाडौँको न्हैकन्तला टोलमा भएको थियो । उहाँ मध्यमवर्गीय नेवार परिवारमा जन्मिनुभएको थियो । उहाँको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि नै साहित्यतर्फ आकर्षित भएका श्रेष्ठले सन् १९४९ बाट लेखन सुरु गर्नुभएको थियो । उहाँको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।
लेखनको प्रारम्भिक चरणदेखि नै उहाँले नेपालभाषालाई आफ्नो सिर्जनाको प्रमुख माध्यम बनाउनुभयो र पछि नेपाली भाषामा पनि उत्तिकै प्रभावशाली सिर्जना गर्नुभयो । नेपालभाषा साहित्यमा उहाँको योगदानकै कारण नेपालभाषा परिषद्ले ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । उहाँका कविता र गीतमा प्रेम, प्रकृति, सामाजिक चेतना, मानवीय संवेदना, सकारात्मक सोच र सांस्कृतिक पहिचानका विषय बलियो रूपमा आएका छन् ।
नेपालभाषामा उहाँका चर्चित कृतिमा ‘ग्विनिला’, ‘इन्कलाबया पलाः’, ‘जि स्वयम्भू त्वाथः’, ‘फ्याखं पिचा’लगायत छन् । नेपाली भाषामा ‘निमन्त्रणा’, ‘इच्छाको सिमाना’, ‘तपक’, ‘फूल तिम्रै बारीको’, ‘किरमिरे धर्साहरू’, ‘कागजको डुङ्गा’, ‘चिरबिरी’ र ‘अन्तर्भाव’जस्ता कृति चर्चित छन् । उहाँ कवि र गीतकार मात्र नभई नाटककार तथा बालसाहित्यकारसमेत हुनुहुन्थ्यो ।
श्रेष्ठको नाम नेपाली जनमानसमा सबैभन्दा गहिरो रूपमा जोडिएको सिर्जना हो, ‘फूलको आँखामा फूलै संसार’ । न्ह्यू बज्राचार्यको संगीत र आनी छोइङ डोल्माको स्वरमा लोकप्रिय बनेको यो गीतले श्रेष्ठलाई नेपाली गीतसंगीतको इतिहासमै विशिष्ट स्थान दिलाएको छ । श्रेष्ठको अर्को लोकप्रिय गीत ‘सय थरी बाजा एउटै चाल’ रहेको छ ।
दुर्गालालको साहित्यक विशेषता केवल भाषिक मिठास थिएन । उहाँले सामान्य मानिसको जीवन, दुःख, संघर्ष, श्रम र सपनालाई आफ्ना सिर्जनामा स्थान दिनुभयो । नेपालभाषामा लेख्दा उहाँले आफ्नो मातृभाषाको संरक्षण र विकासमा योगदान गर्नुभयो भने नेपालीमा लेख्दा उहाँका सिर्जना देशभरका पाठक र श्रोतामाझ पुगे।
उहाँका कवितामा संगीतात्मकता विशेष रूपमा पाइन्छ । यही कारण उहाँका धेरै कविता सहजै गीतमा रूपान्तरण हुने खालका छन् । उहाँको साहित्य नेपाल भाषाको सीमाभित्र मात्र रहेन; उहाँका केही सिर्जना अंग्रेजी, जापानी, कोरियनलगायत भाषामा समेत अनुवाद भएका छन् । साहित्यिक अनुसन्धानमा उहाँलाई नेपालका प्रमुख कवि तथा गीतकारमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ ।
श्रेष्ठले गीत लेखनमा पनि लामो समय योगदान गर्नुभयो । एउटा अन्तर्वार्तामा उहाँले नाटकका लागि गीत आवश्यक परेपछि आफैँ गीत लेख्न थालेको बताउनुभएको थियो । सन् १९५४ बाट गीत लेख्न थाल्नुभएका श्रेष्ठले नाटक र सांस्कृतिक गतिविधिमार्फत नेपालभाषाको साहित्यिक तथा सांगीतिक चेतना फैलाउने कामसमेत गर्नुभयो ।
श्रेष्ठलाई जीवनभर विभिन्न साहित्यिक तथा सांस्कृतिक सम्मान प्राप्त भयो । श्रेष्ठ सिरपा, मूर्तिमान सिरपा, नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बालसाहित्य पुरस्कारलगायत सम्मानबाट उहाँ सम्मानित हुनुभयो । नेपालभाषा परिषद्ले उहाँलाई जनकवि उपाधि दिएको थियो भने उहाँ नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यसमेत बन्नुभएको थियो ।
उहाँको योगदानलाई कदर गर्दै ‘जगदम्बा–श्री’बाट सम्मानित गरिनु उहाँको साहित्यिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि थियो । मातृभाषा र नेपाली भाषामा लामो समयसम्म गीत, कविता, काव्य र बालसाहित्य सिर्जना र योगदानको कदर गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा गायिका आनी छोइङ डोल्माको उपस्थिति आफैँमा भावुक संयोग बनेको छ । श्रेष्ठको जीवनले एउटा स्रष्टाले भाषा, साहित्य र संगीतमार्फत समाजसँग कसरी संवाद गर्न सक्छ भन्ने उदाहरण छाडेको छ । उहाँले लेखेका शब्द केवल कागजमा सीमित रहेनन् गीत बने, जनताको मुखमा पुगे र समयसँगै जीवनदर्शन बने ।
आज राष्ट्रिय सम्मानका साथ जनकवि श्रेष्ठलाई अन्तिम बिदाइ गरिँदै गर्दा उहाँको सिर्जनाले भने नेपाली समाजसँग बिदाइ लिएको छैन । ‘फूलको आँखामा फूलै संसार’ भन्ने उहाँको सकारात्मक दृष्टिकोण जस्तै उहाँका शब्दहरू पनि नेपाली साहित्य र संगीतको स्मृतिमा लामो समयसम्म फुलिरहनेछन् ।












प्रतिक्रिया