राष्ट्रिय सम्मानका साथ जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइ


काठमाडौँ।

नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै अन्तिम बिदाइ गरिएको हो । गृहमन्त्री सुधन गुरुङको पहलमा उहांलाई राष्ट्रिय सम्मान दिने निर्णय भएको थियो ।

उनको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा चर्चित गायिका आनी छोइङ डोल्मालगायत साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

श्रेष्ठको निधनसँगै नेपाली साहित्यले केवल एउटा कवि गुमाएको छैन, नेपाल भाषा र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवद्र्धनमा उनको योगदान करिब सात दशक लामो रह्यो ।

मदन पुरस्कार गुठीले पनि उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मय समृद्ध बनाएको योगदानका लागि ‘जगदम्बा–श्री’बाट सम्मानित गरेको थियो ।

दुर्गालाल श्रेष्ठको जन्म सन् १९३५ जुलाईमा काठमाडौंको न्हैकन्तला टोलमा भएको थियो ।

उनी मध्यमवर्गीय नेवार परिवारमा जन्मिएका थिए । उनको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि नै साहित्यतर्फ आकर्षित भएका श्रेष्ठले सन १९४९ बाट लेखन सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।

लेखनको प्रारम्भिक चरणदेखि नै उनले नेपाल भाषालाई आफ्नो सिर्जनाको प्रमुख माध्यम बनाए । पछि नेपाली भाषामा पनि उत्तिकै प्रभावशाली सिर्जना गरे । नेपाल भाषा साहित्यमा उनको योगदानकै कारण नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । उनका कविता र गीतमा प्रेम, प्रकृति, सामाजिक चेतना, मानवीय संवेदना, सकारात्मक सोच र सांस्कृतिक पहिचानका विषय बलियो रूपमा आएका छन् ।

नेपाल भाषामा उनका चर्चित कृतिमा ‘ग्विनिला’, ‘इन्कलाबया पलाः’, ‘जि स्वयम्भू त्वाथः’, ‘फ्याखं पिचा’लगायत छन् । नेपाली भाषामा ‘निमन्त्रणा’, ‘इच्छाको सिमाना’, ‘तपक’, ‘फूल तिम्रै बारीको’, ‘किरमिरे धर्साहरू’, ‘कागजको डुङ्गा’, ‘चिरबिरी’ र ‘अन्तर्भाव’जस्ता कृति चर्चित छन् । उनी कविता र गीतकार मात्र नभई नाटककार तथा बालसाहित्यकारसमेत थिए ।

श्रेष्ठको नाम नेपाली जनमानसमा सबैभन्दा गहिरो रूपमा जोडिएको सिर्जना हो,‘फूलको आँखामा फूलै संसार’ । न्ह्यू बज्राचार्यको संगीत र आनी छोइङ डोल्माको स्वरमा लोकप्रिय बनेको यो गीतले श्रेष्ठलाई नेपाली गीतसंगीतको इतिहासमै विशिष्ट स्थान दिलाएको छ । गीतको मूल भाव सकारात्मक दृष्टिकोणसँग जोडिएको छ । संसारलाई हेर्ने मानिसको दृष्टिकोण नै उसको संसार निर्माण गर्ने आधार हो । श्रेष्ठको अर्को लोकप्रिय गीत सयथरी बाजा एउटै चाल रहेको छ ।

दुर्गालालको साहित्यको विशेषता केवल भाषिक मिठास थिएन । उनले सामान्य मानिसको जीवन, दुःख, संघर्ष, श्रम र सपनालाई आफ्ना सिर्जनामा स्थान दिए । नेपाल भाषामा लेख्दा उनले आफ्नो मातृभाषाको संरक्षण र विकासमा योगदान गरे भने नेपालीमा लेख्दा उनको सिर्जना देशभरका पाठक र श्रोतामाझ पुगे ।

उनका कवितामा संगीतात्मकता विशेष रूपमा पाइन्छ । यही कारण उनका धेरै कविता सहजै गीतमा रूपान्तरण हुने खालका छन् । उनको साहित्य नेपाल भाषाको सीमाभित्र मात्र रहेन; उनका केही सिर्जना अंग्रेजी, जापानी, कोरियनलगायत भाषामा समेत अनुवाद भएका छन् । साहित्यिक अनुसन्धानमा उनलाई नेपालका प्रमुख कवि तथा गीतकारमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ ।

श्रेष्ठले गीत लेखनमा पनि लामो समय योगदान गरे । एउटा अन्तर्वार्तामा उनले नाटकका लागि गीत आवश्यक परेपछि आफैं गीत लेख्न थालेको बताएका थिए । सन १९५४ बाट गीत लेख्न थालेका उनले नाटक र सांस्कृतिक गतिविधिमार्फत नेपाल भाषाको साहित्यिक तथा सांगीतिक चेतना फैलाउने कामसमेत गरे ।

श्रेष्ठलाई जीवनभर विभिन्न साहित्यिक तथा सांस्कृतिक सम्मान प्राप्त भयो । ‘श्रेष्ठ सिरपा’, ‘मूर्तिमान सिरपा’, नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बालसाहित्य पुरस्कारलगायत सम्मानबाट उनी सम्मानित भए । नेपाल भाषा परिषद्ले उनलाई जनकवि उपाधि दिएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यसमेत बनेका थिए ।

उनको योगदानलाई कदर गर्दै ‘जगदम्बा–श्री’बाट सम्मानित गरिनु उनको साहित्यिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि थियो । मातृभाषा र नेपाली भाषामा लामो समयसम्म गीत, कविता, काव्य र बालसाहित्य सिर्जना गरेको योगदानका लागि उनलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा गायिका आनी छोइङ डोल्माको उपस्थिति आफैंमा भावुक संयोग बनेको छ । श्रेष्ठको जीवनले एउटा स्रष्टाले भाषा, साहित्य र संगीतमार्फत समाजसँग कसरी संवाद गर्न सक्छ भन्ने उदाहरण छाडेको छ । उनले लेखेका शब्द केवल कागजमा सीमित रहेन । गीत बने, जनताको मुखमा पुगे र समयसँगै जीवनदर्शन बने ।

आज राष्ट्रिय सम्मानका साथ जनकवि श्रेष्ठलाई अन्तिम बिदाइ गरिँदै गर्दा उनको सिर्जनाले भने नेपाली समाजसँग बिदाइ लिएको छैन। ‘फूलको आँखामा फूलै संसार’ भन्ने उनको सकारात्मक दृष्टिकोणजस्तै उनका शब्दहरू पनि नेपाली साहित्य र संगीतको स्मृतिमा लामो समयसम्म फूलिरहनेछन् ।