काठमाडौं।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल रेडक्रस सोसाइटीको भक्तपुरस्थित जग्गा खरिद प्रकरणमा पूर्वअध्यक्ष संजीव थापा र पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पूर्वअध्यक्ष थापा, पूर्वकार्यकारी निर्देशक ढकाल, राजेश देशमरु, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी रहेका छन्। उनीहरूलाई भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त छानबिन प्रतिवेदनका आधारमा रेडक्रसले भक्तपुरमा गोदामघर सञ्चालनका लागि खरिद गरेको जग्गामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानका क्रममा बोलपत्र प्रक्रियाका सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरिएको, खरिदका लागि करिब ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको तथा खरिद गरिएको जग्गाको वास्तविक क्षेत्रफल कागजातमा उल्लेख भएभन्दा कम रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ।
सीआईबीले उक्त प्रकरणमा आर्थिक अनियमितता भएको आशंकामा थप प्रमाण संकलन र अन्य संलग्न व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि सरकारी तथा सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना र आर्थिक अनियमिततासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया