काठमाडौं ।
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्।
नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष सेठले मंगलबार कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनले कलेजका विभिन्न गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित उक्त तालिममा हाल १० जना विदेशी र ८२ जना नेपाली गरी ९२ जना शिक्षार्थी अधिकृत सहभागी छन्।

वि.सं. २०४९ पुस १४ गते स्थापना भएको कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका १ हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बलका २९, राष्ट्रिय अनुसन्धान विभागका २० तथा रक्षा मन्त्रालयका एक जना अधिकृत प्रशिक्षित भइसकेका छन्। यस्तै, विभिन्न मित्रराष्ट्रका १३२ जना अधिकृतले समेत कलेजबाट तालिम लिएका छन्। कलेजबाट हालसम्म स्वदेशी तथा विदेशी गरी कुल १ हजार ५०७ जना शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेका छन्।

भारतीय स्थल सेनाध्यक्षको भ्रमणलाई नेपाल–भारतबीचको सैन्य सहकार्य तथा व्यावसायिक सैनिक तालिम आदान–प्रदानका दृष्टिले महत्वपूर्ण मानिएको छ।











प्रतिक्रिया