काठमाडौं।
नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताउनुभयो। उहाँले परराष्ट्रमन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति समेत खुसी व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उहाँले देखाउनुभएको सहयोगको प्रशंसा गर्नुभयो । भेटमा राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । परराष्ट्रमन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिनुभयो ।
त्यसैगरी, राजदूत लोरेन्जोले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका क्षेत्रमा ईयूले नेपालसँग सहकार्य गर्ने योजना रहेको बताउनुभयो । मन्त्री खनालले उक्त प्रस्तावको स्वागत गर्दै थप अध्ययन तथा विचारका लागि विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गर्नुभयो । मन्त्री खनालले सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको उल्लेख गर्दै ‘विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर छ’ भन्नुभयो । भेटवार्तामा नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा समेत छलफल भएको थियो । राजदूत लोरेन्जोले नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि ईयूले सहयोग गर्ने बताउनुभयो ।
त्यस अवसरमा नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा समेत छलफल भएको थियो । राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गर्नुभएको थियो। जवाफमा मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताउनुभयो । भेटको अन्त्यमा मन्त्री खनालले नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गर्नुभएको योगदान र प्रयासका लागि धन्यवाद व्यक्त गर्दै उहाँको आगामी कार्यकाल तथा भविष्यका प्रयासका लागि शुभकामना दिनुभयो ।











प्रतिक्रिया