काठमाडौँ।
काठमाडौँ महानगरपालिका सहरी व्यवस्थापन विभागअन्तर्गत सहरी व्यवस्थापन महाशाखाले नक्सापास गर्दा दैनिक ३ भन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने गरेको छ ।
कामपा सहरी व्यवस्थापन विभागमा आउने सबै उजुरी महाशाखा प्रमुखले हस्ताक्षर गरेको पाइएको छ । विभागअन्तर्गत रहेको महाशाखाले प्रशासन विभागलगायतबाट आएका नक्सा हचुवामा पास गरेका कारण समस्यामा परेको हो ।
महाशाखा प्रमुख रोशन श्रेष्ठले महाशाखामा दैनिक दर्जन बढी नक्साका फाइल आउने गरेको स्पष्ट पार्नुभयो । उच्चस्रोतका अनुसार महानगरको प्रशासन विभागलगायत उच्च अधिकारीबाट नक्सापास गर्न दबाब दिने गरेको फेला परेको छ ।
‘मैले विभागअन्तर्गत महाशाखामा आएका नक्सामध्ये करिब ९० प्रतिशतमा हस्ताक्षर गर्ने गरेको छु, केहीमा विवाद आएको छ भने केही अख्तियारमा उजुरी परेको छ’ –महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो । महानगरको सहरी व्यवस्थापन विभागमा १० हजार स्क्वायर फिटभन्दा माथिको नक्सा स्वीकृति विभागीय प्रमुखले गर्ने व्यवस्था छ ।
नक्सापास भएका घरको बारेमा बारम्बार उजुरी पर्न थालेपछि महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो अब अति भयो, विचार गरेर मात्र हस्ताक्षर गर्नेछु । विभागमा दैनिक करिब २५ प्राप्त भएका नक्सापासका फाइलमध्ये अधिकांश १० हजार स्क्वायरफिटसम्मको छ ।
सबै नक्सा स्वीकृत गर्ने अधिकार महाशाखालाई मात्र छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले जथाभावी नक्सा स्वीकृत भएको विषमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उजुरी परेको छ र ? मलाई कुनै जानकारी छैन ।’
५ हजारसम्मको अस्थायी नक्सा स्वीकृत गर्ने अधिकार वडा कार्यालयलाई दिएको छ । वडाले ५ हजारसम्म अस्थायी, महाशाखाले ५ हजारमाथि १० हजारसम्म र विभागीय प्रमुखले १० हजारमाथिका नक्सा स्वीकृत गर्ने अधिकार छ । डिपिआर, जिएलडीलगायत स्वीकृत विभागले दिने गरेको छ । स्रोतका अनुसार विभागमा ३, महाशाखामा २ डिएलडी २ र एक जना गरी ८ जना इन्जिनियर कार्यरत छन् । पछिल्लो उजुरी क्यासिनोको भवनको परेको छ ।
यसअघि एउटा उजुरी त सामाजिक सञ्जालमा छ्यापछ्याप्ती थियो । आफ्नो जग्गा हालसाबीभन्दा बढीमा घर बनाएको विषयमा उजुरी परेको थियो । वास्तविक क्षेत्रफलभन्दा बढी नक्सा पास गरी अनियमित रूपमा भवन निर्माण गरिएको सम्बन्धमा उजुरी उमेश कार्कीले उजुरी दिनुभएको थियो । ‘विपक्षी कामपा–१४ मा बस्ने राजेश केसीकी श्रीमती पिंकी केसीले आफ्नो वास्तविक जग्गा क्षेत्रफलभन्दा बढी क्षेत्रफल देखाई महानगरपालिकाबाट वा वडाबाट नक्सा पास गराई भवन निर्माण गरिरहेको अवस्था छ । हालको नक्सा सिट नम्बर १०२–११४२–०६ को कित्ता नम्बर १६९ को क्षेत्रफल १०९.४० रहेको छ’ –उजुरीमा भनिएको छ ।
नक्साअनुसार चौडाइ ३१ फिट ७ इन्च हुनुपर्नेमा ३३ फिट १ इन्च बनाएर नक्सा पास गरेको छ । १८ इन्च बढी जग्गा नदिईकन घर निर्माण गरिरहेको छ । उक्त घर निर्माण गरेमा हामीलाई अपुरणीय क्षति हुने देखिन्छ । उक्त कार्यमा सम्बन्धित प्राविधिक कर्मचारी, इन्जिनियर तथा कार्यालयको मिलेमतो र अधिकारको दुरुपयोग भएको आशङ्का भएकाले छानबिन गरी कानुनबमोजिम कारबाही गरिपाऊँ भनी यो उजुरी पेस गरेको जनाएका छन् ।
यसअघि पनि उजुरी नपरेका होइनन् । अहिले प्रशासन विभागको दबाबमा परेर नक्सा पास गर्दा समस्या परेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको बिदाइपछि हाल नक्सापास रोकिएको छ । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले कहिलेबाट नक्सापास खुला गर्नुहुन्छ, निर्णय भएको छैन ।
कामपाका कर्मचारीले नक्सापासमा भएको उजुरीको विषयमा जानकारी गराउने बताएका छन् । कसैको शक्तिको आडमा नक्सापास गर्ने कर्मचारीले आफू फसियला कि भन्ने हेक्का नभएको कारण मनपरी नक्सा स्वीकृत गर्ने गरेको पाइएको छ । सोही स्वीकृत नक्सा अख्तियारमा पुगेर अधिकांशले उजुरी दिने गरेका छन् ।











प्रतिक्रिया