ग्यास विक्रेता महासङ्घले भन्यो- प्रत्यक्ष ग्यास बिक्रीले समस्या बढायो, डिलरमार्फत वितरण गरौँ


काठमाडौँ ।

खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि ग्यास विक्रेता महासङ्घ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन गरिएका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीलाई बेवास्ता गर्दै उद्योग तथा बिक्री केन्द्रबाटै ग्यास बिक्री गर्ने निर्णयले समस्या झन् जटिल बनाएको बताएका छन्। उनका अनुसार विक्रेता तथा डिलरमार्फत वितरण गर्नुपर्ने ग्यास अन्य माध्यमबाट बिक्री हुँदा उपभोक्ताले अनावश्यक सास्ती व्यहोर्नुपरेको छ।

महासङ्घले एकातिर विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतर्फ अनुगमनका नाममा विक्रेतालाई दुःख दिने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएको छ। महासङ्घले विज्ञप्तिमार्फत उद्योग र विभिन्न बिक्री केन्द्रबाट प्रत्यक्ष ग्यास बिक्री गर्ने तथा अनुगमनका नाममा विक्रेतालाई अनावश्यक दुःख दिने काम तत्काल रोक्न माग गरेको हो।

महासङ्घले ग्यास उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्दै विक्रेतामार्फत मात्र ग्यास वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरिए उपभोक्ताले भोगिरहेको सास्ती कम हुने र ग्यास वितरणको वास्तविक समस्या समाधान गर्न सहज हुने महासङ्घको दाबी छ।

महासङ्घले पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्याङ्कसमेत सार्वजनिक गरेको छ। बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिएको कारण पनि अहिलेको समस्या सिर्जना भएको महासङ्घको भनाइ छ।

नयाँ सिलिन्डरको बिक्री अझै नरोकिएको भन्दै महासङ्घले तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। वास्तविक समस्या समाधान गर्नुपर्ने निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकार भने समाधान खोज्नुभन्दा अनावश्यक प्रचारबाजीमा केन्द्रित भएको महासङ्घको आरोप छ।