कांग्रेस इतर समूहको भेला ‘राष्ट्रिय सम्मेलन’ मा परिणत


काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको छ।

शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदन पेस भइरहेका बेला भेलाको नाम परिवर्तन गरिएको हो। सुकेधारास्थित मिराकल पार्टी भेन्युमा राखिएको ब्यानर हटाएर ‘राष्ट्रिय सम्मेलन’ लेखिएको नयाँ ब्यानर राखिएको छ।

देउवा समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले पार्टीको विधानले ‘भेला’ शब्दलाई नचिन्ने भएकाले नाम परिवर्तन गरिएको बताए। उनका अनुसार विधानले अधिवेशन, महाधिवेशन र सम्मेलनलाई मात्र मान्यता दिने भएकाले जारी कार्यक्रमलाई ‘राष्ट्रिय सम्मेलन’ भनिएको हो।

विश्वकर्माले अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त भएपछि वैधानिकताको दाबी निरन्तर रहेकाले विधानअनुसार छलफल अघि बढाउन सम्मेलन नामकरण गरिएको बताए।