काठमाडौं ।
खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण थालेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिवारदेखि टेकु, चाबहिल, कीर्तिपुर, वसुन्धरा र बबरमहलबाट ग्यास वितरण सुरु गरेको हो।
निगमका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गरिनेछ। बबरमहल केन्द्रबाट भने काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ। ग्यास लिन उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र ल्याउनुपर्नेछ।
ग्यास अभावका कारण वितरण केन्द्रमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ। बबरमहलमा मात्रै एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन्। कतिपय उपभोक्ताले लाइनमा बसेर पालो आए पनि ग्यास नहुँदा लामो समय कुरेर बस्नुपरेको गुनासो गरेका छन्।
निगमले ग्यासको कालोबजारी, लुकाउने तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र बनाएको जनाएको छ। अत्यावश्यक परेका उपभोक्तालाई तोकिएको केन्द्र र समयमा उपस्थित भएर मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।











प्रतिक्रिया