प्रसाईंको घरमा प्रहरी, आन्दोलनमा सहभागी हुन रोक्ने तयारी


काठमाडौँ ।

लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा सहभागी हुनसक्ने भन्दै प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निकोसेराको घरमा प्रहरी टोली पठाएको छ।

मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौँ आइपुगेका छन्। उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको गेट अगाडिको सडकमा सुतेर धर्ना दिएका थिए।

सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म र वार्ताका लागि सरकारी प्रतिनिधि नआएसम्म आन्दोलन स्थलबाट नहट्ने अडान उनीहरूले लिएका छन्।

प्रसाईं आन्दोलनमा सहभागी हुँदा स्थिति भड्किन सक्ने आकलन गर्दै उनलाई घरमै रोक्न प्रहरीले सावधानी अपनाएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार अप्रिय स्थिति सिर्जना नहोस् भनेर प्रहरी टोली प्रसाईंको निवास पुगेको हो।