नदीकाे बीच भागमा अलपत्र युवाकाे ११ घण्टापछि उद्दार

0
Shares

दाेलखा ।

तामाकाेशी नदिकाे बीच भागमा अलपत्र परेका दाेलखाकाे कालिञ्चोक गाउँपालिका वडा नम्बर – ४ चप्लेटी निवासी २३ बर्षिय अभियान थामीलाई झण्डै ११ घण्टाकाे प्रयत्नमा शुक्रबार राति ११ बजे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे टाेलीले सकुशल उद्दार गरेकाे छ ।

दोलखाकाे बिगु गाउँपालिका वडा नं.१ सिस्नेरी स्थित खोलामा निर्माणाधिन तामाकोशी पाचौँ जलविद्युत आयोजनाको अडिट -१ मा काम गर्ने कामदार अभियान थामी शुक्रवार साँझ ५ बजेतिर माछा मारेर फर्किने क्रममा एक्कासी तामाकोशी नदीमा पानीको बहाव बढेकाेले नदी तर्न नसकी बीच भागमा अलपत्र परेका थिए ।

राति ८ बजेतिर मानिस नदीकाे बीचमा अलपत्र परेकाे जानकारी पाएपछि रोल्वालिङ प्रहरी चाैकीबाट प्रसनी बिनोद बोगटीकाे कमाण्डमा २ जना, इलाका प्रहरी कार्यालय सिंगटी दोलखाबाट प्रहरी निरीक्षक बिष्णुहरि फुयालको कमाण्डमा ७ जना, सुरक्षा वेस गाेङ्गररबाट नेपाली सेनाका सह- सेनानी बिश्वास कार्कीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नं. १८ गुल्म मातहत मनसुन प्रतिकार्य बेश सिंगटी बाट सप्रनानि शेखर कार्की को कमाण्डमा ७ जना काे टाेलीले उद्दारकाे लागि पुगेकाे थियाे ।

रातिकाे समयमा गरिएकाे जाेखिमपूर्ण उद्दार कार्य सफल भै नदीकाे बीचमा फसेका अभियान थामीलाई झण्डै ११ घण्टा पछि सकुशल उद्दार गर्न सकिएकाे सशस्त्र प्रहरी बल नं. १८ गुल्म मातहत मनसुन प्रतिकार्य बेश सिंगटीका सप्रनानि शेखर कार्कीले बताए ।