सुदूरपश्चिममा मुख्यमन्त्री  भट्टसहित ४ मन्त्रीद्वारा शपथ ग्रहण ,भागबन्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएन  !

0
Shares

धनगढी। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार अपराह्न ३ बजे प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदको र धारा १७२ अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। शपथ ग्रहण लगत्तै मुख्यमन्त्री भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार समेत ग्रहण गरिसक्नुभएको छ।

विशेष शपथ ग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व मुख्यमन्त्रीहरू त्रिलोचन भट्ट र राजेन्द्र सिंह रावलको उपस्थिति रहेको थियो । यस्तै पूर्व मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, विभिन्न राजनीतिक दलका पदाधिकारी, प्रदेशका मुख्य सचिव, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न मन्त्रालयका सचिवहरूको समेत  उपस्थिति रहेको थियो । मुख्यमन्त्री भट्टसँगै शपथ नेकपा एमालेका तर्फबाट मन्त्री बनेका  मन्त्रीहरू चक्र मल्ल (आर्थिक मामिला मन्त्री), सन्तोष थापा (सामाजिक विकास मन्त्री), दमन भण्डारी (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री) र जानकी ऐर बम (अर्थ राज्यमन्त्री) ले पनि शुक्रबार नै आ–आफ्नो मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको छ।

मुख्यमन्त्रीको शपथसँगै सत्ता साझेदार नेकपाको भागमा परेका बाँकी मन्त्रालयका मन्त्रीहरूलाई पनि शुक्रबार नै शपथ गराउने तयारी गरिए पनि साबिक नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन एवं समायोजनबाट बनेको नयाँ नेकपाभित्र मन्त्री बन्ने आकांक्षीको ताँती लागेपछि नाम टुङ्गो लाग्न सकेको छैन। पार्टीका २२ जना सांसदहरूमध्ये अधिकांशले मन्त्री पदमा दाबी गरेपछि  आन्तरिक खिचाताछ तीव्र बनेकोले शुक्रवार नेकपाका तर्फबाट बन्ने मन्त्रीले सपथग्रहण हुन नसकेका नेकपाका एक केन्द्रीय सदस्यले बताउनुभयो । बाहिर आएको चर्चा अनुसार साबिक एकीकृत समाजवादीका तर्फबाट प्रकाश रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाश चौधरी र खुसीराम चौधरी तथा माओवादीका तर्फबाट मानबहादुर धामी र अक्कल रावलको नाम बढी चर्चामा रहेको छ ।

अहिले नै मन्त्री चयन गर्दा मन्त्री नपाउने असन्तुष्ट पक्षले विद्रोह गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम ३० दिनभित्र लिनुपर्ने विश्वासको मत नै नदिई सरकार ढाल्दिने खतरा बढेकोले नेकपाका तर्फबाट बन्ने मन्त्रहरुको नियुक्ति विश्वासको मतपछि हुने अनुमान गरिएको  छ । सम्भावित विद्रोहको डरले सरकार नै जोखिममा पर्ने देखिएपछि पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले स्थितिलाई गम्भीरताका साथ नियालिरहनुभएको छ । असहयोग र विद्रोहको यही डरका कारण मुख्यमन्त्री खगराज भट्टले पहिले प्रदेश सभाबाट विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीति बनाउने अनुमान गरिएको छ । यसले गर्दा सुदूरपश्चिममा नेकपाको भागमा परेका मन्त्रीहरूको शपथ र मन्त्रिपरिषद्को पूर्णता अझै केही दिन लम्बिने सक्ने सम्भावना रहेको छ ।