काठमाडौं
काठमाडौंस्थित पाकिस्तानी दूतावासले पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार झण्डोत्तोलन समारोह आयोजना गरेको छ। दूताबास परिसरमा आयोजित समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराउनुभएको थियो। कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यहरूको सहभागिता थियो।

समारोहमा सम्बोधन गर्दै राजदूत मोहम्मद आमिर खानले सन् १९४७ को ऐतिहासिक स्वतन्त्रता संघर्ष तथा त्यस क्रममा आफ्ना पूर्वजहरूले गरेको बलिदानको स्मरण गर्नुभयो। पश्चिम एसियामा बढेको तनाव कम गर्न पाकिस्तानले निर्वाह गरेको कूटनीतिक भूमिकाले विश्वस्तरमा सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो।
राजदूत खानले शान्ति र प्रगतिप्रति पाकिस्तानको प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि चुनौतीको सामना गर्न राष्ट्र एकताबद्ध भएर उभिने बताउनुभयो। साथै, नेपाल र पाकिस्तानबीच शताब्दीयौँ पुराना सभ्यतागत सम्बन्ध, ऐतिहासिक सम्बन्ध तथा साझा मूल्यमा आधारित कूटनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन पाकिस्तान प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

स्वतन्त्रता दिवसका अवसरमा जारी सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पाकिस्तान स्थापनाका लागि योगदान गर्ने कायदे आजम मोहम्मद अली जिन्नाहसहित पाकिस्तान आन्दोलनका नेता तथा कार्यकर्ताको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले स्वतन्त्रता ऐतिहासिक उपलब्धि मात्र नभई जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो।
क्षेत्रीय शान्ति र स्थायित्वका लागि संवाद र तनाव न्यूनीकरणमा पाकिस्तानले निर्वाह गरेको भूमिकालाई राष्ट्रपति जरदारीले महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार पाकिस्तानले आफ्नो भौगोलिक अवस्थिति, सञ्चारका माध्यम र कूटनीतिक क्षमताको प्रयोग गर्दै क्षेत्रीय तनाव कम गर्न तथा संवादलाई प्रोत्साहन गर्दै आएको छ।

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले चुनौतीका बाबजुद राष्ट्रिय विकास र समृद्धिको यात्रा उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको बताउनुभयो। उहाँले पाकिस्तानी सशस्त्र सेनाले कठिन परिस्थितिमा मातृभूमिको रक्षा गर्दै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै पाकिस्तानलाई विश्व समुदायमा दृढ, सम्मानित तथा शान्तिको पक्षधर राष्ट्रका रूपमा प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री सरिफले पाकिस्तान, साउदी अरब र टर्कीबीच भएको मक्का संयुक्त रक्षा सम्झौतालाई पाकिस्तानको क्षेत्रीय भूमिकाको उदाहरणका रूपमा उल्लेख गर्नुभयो। दक्षिण एसियामा स्थायी शान्तिका लागि जम्मु–कश्मीर विवादको समाधान संयुक्त राष्ट्रसंघका सम्बन्धित प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन तथा कश्मीरी जनताको आकांक्षाअनुसार कूटनीतिक माध्यमबाट हुनुपर्ने उहाँको भनाइ थियो।
उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले स्वतन्त्रतापछि पाकिस्तानले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै राष्ट्रिय एकता, विश्वास र अनुशासनका सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले पाकिस्तानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको संरक्षणसँगै अन्तर्राष्ट्रिय कानुन, जिम्मेवार कूटनीति तथा क्षेत्रीय शान्तिप्रतिको प्रतिबद्धता कायम रहेको बताउनुभयो। उहाँले पाकिस्तानका सशस्त्र सेना, प्रहरी तथा अर्धसैनिक बलका सदस्यहरूको साहस, व्यावसायिकता र राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उनीहरूप्रति सम्मान व्यक्त गर्नुभयो।











प्रतिक्रिया