सर्वोच्चको आदेश : पत्रकार श्रेष्ठलाई सोमबार उपस्थित गराउनू


काठमाडौं ।

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

श्रेष्ठकी श्रीमती सरस्वतीले पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो।

प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासमा खानतलासी गरी कम्प्युटर, ल्यापटप र मोबाइललगायत विद्युतीय सामग्रीसमेत बरामद गरेको छ। अनुसन्धानका लागि अदालतले बिहीबार श्रेष्ठलाई तीन दिनको म्याद दिएको थियो।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष श्रेष्ठको पक्राउ र जनआस्थाको कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिललगायत विभिन्न राजनीतिक दलले विरोध गर्दै निःशर्त रिहाइको माग गरेका छन्।

श्रेष्ठलाई हाल प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ।