–५० वर्षमा भ्रष्टाचारको दाग छैन
–देउवा नै वैधानिक सभापति : शशांक
–राष्ट्रिय एकता बलियो बनाउने प्रतिबद्धता
काठमाडौँ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गर्दै आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित नहुने बताउनुभएको छ ।
झन्डै पाँच महिनापछि बिहीवार स्वदेश फर्किनुभएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुनदेवीस्थित निवास पुगेर नेता–कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्धका उजुरी तथा छानबिनबाट नडराउने बताउनुभयो । अदालतले पटक–पटक बोलाए पनि आफू डराउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ थियो ।
‘अहिलेसम्म ५० वर्ष काम ग¥या छु, एक रुपैयाँ कतैबाट तलमाथि भएको कुरा छैन’ भन्दै देउवाले अदालत र जनताले सबै कुरा बुझ्ने र समयले नै जवाफ दिने बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाल्दै लोकतन्त्र र गणतन्त्र उल्ट्याउन कसैले नसक्ने दाबी गर्नुभयो । गणतन्त्र आफूले चाहेर आएको नभई जनताले चुनेको संविधानसभाबाट स्थापित भएको उल्लेख गर्दै उहाँले देशको मालिक जनता नै भएको बताउनुभयो । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् र ?’ –उहाँले भन्नुभयो ।
स्वदेश फर्किएलगत्तै देउवाले आफू अब व्यक्तिगत लाभ वा शक्तिको पदका लागि सक्रिय नहुने स्पष्ट पार्नुभएको छ । उहाँद्वारा जारी अपिलमा उहाँले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षामा समर्पित गर्ने बताउनुभएको छ ।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ भन्दै देउवाले मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । आफू नेता बन्न नभई एक सचेत नागरिकका रूपमा सक्रिय हुन फर्किएको उहाँको भनाइ छ ।
देउवाले नयाँ पुस्तामा देखिएको परिवर्तनको चाहनालाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विगतका त्याग र बलिदानलाई सम्मान गर्दै नयाँ पुस्तासँग सहकार्य गरेर पार्टीलाई रूपान्तरण गर्नुपर्ने उहाँको धारणा छ । संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
यसैबीच कांग्रेस नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ । विमानस्थलमा देउवालाई स्वागत गर्न पुग्नुभएका कोइरालाले सभापतिको जिम्मेवारीमा कुनै कानुनी अड्चन वा अदालतको रोक्का आदेश नरहेको बताउनुभयो । ‘अदालतबाट कुनै स्टे अर्डर आएको छ र ? देउवा नै सभापति हो’ –उहाँले भन्नुभयो । पार्टीभित्रको असन्तुष्टि संवादबाट समाधान गरी सबै पक्षलाई पुनः एक ठाउँमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
चुनदेवीमा ‘सभापति देउवा’को बोर्ड
देउवा स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ । इतर समूहले शुक्रवारदेखि तीनदिने राष्ट्रिय भेला आयोजना गर्दै छ । भेलामा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ ।
उता, कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै निवर्तमान सभापति देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा स्वागत गर्नुभएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएपछि उपचारमा रहनुभएका देउवा गत फागुनमा सिंगापुर जानुभएको थियो । सिंगापुरका विभिन्न अस्पतालमा उपचारपछि थप उपचार तथा परामर्शका लागि हङकङ पुग्नुभएका उहाँ झन्डै पाँच महिनापछि स्वदेश फर्किनुभएको हो ।
‘म शक्ति लिन होइन, एकता बलियो बनाउन फर्किएँ’
शेरबहादुर देउवाले आफू कुनै पद वा व्यक्तिगत लाभका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि सक्रिय हुन स्वदेश फर्किएको बताउनुभएको छ । नयाँ पुस्ताको भावना सम्बोधन गर्दै कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ छ । बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै देउवाले आफू ‘नेता बनेर होइन, आजीवन नागरिक बनेर’ सक्रिय रहने बताउनुभएको छ ।











प्रतिक्रिया