ईभी माइक्रोको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु


काठमाडौँ।

कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीस्थित बाघधारानजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले सडकमा पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंकरप्रसाद कुइँकेललाई ठक्कर दिएको थियो।

माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने ईभी माइक्रो र चालकलाई नियन्त्रणमा लिएको छ।

घटनापछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय घटनास्थलमा भेला भएका थिए। उनीहरूले डाँछी चोकमा सडक अवरुद्ध गरेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।