त्रिविको परीक्षा प्रणाली सुधार्न अनेरास्ववियुको ७ बुँदे माग, १० दिनभित्र पूरा नभए आन्दोलनको चेतावनी


काठमाडौं ,

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी, विकेन्द्रीकृत तथा विद्यार्थीमैत्री बनाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिवि जिल्ला कमिटीले परीक्षा नियन्त्रण कार्यालयसमक्ष ७ बुँदे माग राखेको छ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आज (बिहीबार ) परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र बुझाउँदै परीक्षा सञ्चालन, नतिजा प्रकाशन, पुनर्योग तथा पुनः परीक्षण, ट्रान्सक्रिप्ट वितरण र डिजिटल भुक्तानीलगायतका सेवामा देखिएका समस्या तत्काल समाधान गर्न माग गरेको हो।

ज्ञापनपत्रमा परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने सेवामा ढिलासुस्ती, अत्यधिक केन्द्रीकरण, अपारदर्शिता तथा प्रविधिको सीमित प्रयोगका कारण हजारौँ विद्यार्थी प्रभावित हुँदै आएको उल्लेख गरिएको छ। विद्यार्थीहरूले परीक्षा तथा शैक्षिक प्रमाणपत्रसम्बन्धी सेवा लिन अनावश्यक आर्थिक, मानसिक तथा समयगत भार व्यहोर्नुपरेको अनेरास्ववियुको दाबी छ।

अनेरास्ववियुले त्रिविअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुने सबै तहका परीक्षाको परीक्षा केन्द्र आंगिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण रूपमा डिजिटल तथा विकेन्द्रीकृत बनाउँदै आवश्यकताअनुसार प्रादेशिक परीक्षा नियन्त्रण कार्यालय स्थापना गर्न माग गरिएको छ। प्रश्नपत्र सुरक्षित अनलाइन प्रणालीमार्फत परीक्षा केन्द्रसम्म पठाउने व्यवस्था गर्न तथा परीक्षा सम्बन्धी सेवा र प्रमाणपत्र वितरण प्रणालीलाई समेत विकेन्द्रीकरण गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ।

त्रुटि भए पुनर्योगको शुल्क फिर्ता गर्नुपर्ने

अनेरास्ववियुले Re-totaling तथा Rechecking प्रक्रियालाई प्रभावकारी, पारदर्शी र समयबद्ध बनाउन माग गरेको छ। परीक्षा नियन्त्रण कार्यालयको त्रुटि प्रमाणित भएमा सम्बन्धित विद्यार्थीले तिरेको पुनर्योग तथा पुनः परीक्षण शुल्क फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने उसको माग छ।

त्यस्तै, ट्रान्सक्रिप्ट, मार्कसिट, रजिस्ट्रेसन कार्ड, माइग्रेसन तथा प्रोभिजनललगायत सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा कागजात २४ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ।

डिजिटल भुक्तानीका विकल्प बढाउन माग

हाल ConnectIPS मार्फत मात्र शुल्क भुक्तानी गर्न सकिने व्यवस्थालाई विस्तार गर्दै eSewa, Khalti, PhonePe तथा मोबाइल बैंकिङलगायतका डिजिटल माध्यमबाट समेत शुल्क तिर्न सकिने व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ।

त्यसैगरी, अदालतको आदेशबमोजिम जारी हुने ट्रान्सक्रिप्टमा उल्लेख गरिने ‘अदालतको आदेश बमोजिम’ भन्ने शब्दावली हटाई परीक्षा नियन्त्रण कार्यालयमा डिजिटल अभिलेख कायम गरेर ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।

LLB तेस्रो वर्षको नतिजा १५ दिनभित्र सार्वजनिक गर्न माग

अनेरास्ववियुले त्रिविअन्तर्गत LLB तेस्रो वर्ष नियमित तथा आंशिक परीक्षाको नतिजा १५ दिनभित्र सार्वजनिक गर्न समेत माग गरेको छ।

नेपाल बार काउन्सिलले अधिवक्ताको परीक्षाका लागि आवेदन फाराम खुलाइसकेको अवस्थालाई दृष्टिगत गर्दै समयमै नतिजा प्रकाशन गरी सम्बन्धित विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने अनेरास्ववियुको माग छ।

१० दिनभित्र माग सम्बोधन नभए आन्दोलन

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आफ्ना माग सम्बोधनका लागि परीक्षा नियन्त्रण कार्यालयलाई १० दिनको समयसीमा दिएको छ।

ज्ञापनपत्र प्राप्त भएको मितिले १० दिनभित्र माग सम्बोधनका लागि ठोस पहल तथा कार्यान्वयन प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी अनेरास्ववियुले दिएको छ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका कार्यवाहक संयोजक हिक्मत कुमार बुढाले विद्यार्थीको शैक्षिक अधिकार तथा विश्वविद्यालयको परीक्षा प्रणाली सुधारका लागि मागहरू अघि सारिएको बताएका छन्।

अनेरास्ववियुले परीक्षा प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउन विश्वविद्यालय प्रशासनले तत्काल ठोस कदम चाल्नुपर्ने जनाएको छ।