सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामाग्री उपलब्ध


काठमाडौँ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ।

कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको सो बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गरिन् । बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताइन् ।

सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालले जानकारी दिए ।

कम्पनीका विभागीय प्रबन्धक अर्यालले भने“यो केबल एउटा बिक्री कक्षको उद्घाटन मात्र होइन, नेपाली उत्पादनलाई प्राथमिकता दिने, स्वदेशी किसान र उद्योगलाई बजारसँग जोड्ने तथा उपभोक्तालाई गुणस्तरीय वस्तु सहजरुपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको व्यवहारिक सुरुआत हो ।”

उक्त कक्षमा १४२ प्रकारका खाद्य तथा गैरखाद्य वस्तु बिक्रीका लागि राखिएको छ । कम्पनीले आजदेखि ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु पाँच छुट पाउनेछन् ।