–सोझै विद्यार्थीको खातामा रकम जाने, कक्षा १० सम्मै छात्रवृत्ति
आफ्नै त्रुटिले कक्षा ६ र ९ मा छात्रवृत्ति नपाउने स्थानीय तह
१.बूढानीलकण्ठ नगरपालिका, काठमाडौँ
२.मनाङ ङिस्याङ गाउँपालिका, मनाङ
३.नार्पाभूमि गाउँपालिका, मनाङ
४.मटिहानी नगरपालिका, महोत्तरी
५.छिपहार्मी गाउँपालिका, पर्सा
६.पार्टिवा सुगौली गाउँपालिका, पर्सा
काठमाडौँ ।
देशभरका सामुदायिक विद्यालयमा ६ र ९ मा अध्ययनरत १ लाख ४० हजार २८४ विपन्न विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । ७५३ वटै स्थानीय तहबाट छनोटमा परेका उक्त सङ्ख्याका विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउन विद्यार्थीले विपन्न लक्षित मापदण्ड पूरा गर्नुुपर्नेछ ।
कक्षागत कोटाभित्र परेका विद्यार्थीलाई सरकारले उपलब्ध गराएको रकमबाट स्थानीय तहले छात्रवृत्ति दिनेछ । पहिलो चरणमा छनोटमा परेका विद्यार्थीले जनही ६ हजार रुपैयाँ पाउँनेछन् । उक्त रकम विद्यार्थीको सोझै बैंक खातामा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
शिक्षा विभागका महानिर्देशक अणप्रसाद न्यौपानेले गतवर्षबाट सुरु भएको छात्रवृत्ति यो वर्ष पनि जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘करिब १ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति कक्षा ६ र ९ का विद्यार्थीले पाउनेछन् ।’ छात्रवृत्ति रकम पाउन स्थानीय तहले युजर आइडी र पासवर्ड प्रयोग गरी एकीकृत सूचना प्रणाली (इमिस)मा लगइन गर्नुपर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको सूची तयार गरी सूचना सार्वजनिक गर्नुपर्नेछ । सोही आधारमा स्थानीय तहले विद्यालयलाई आफ्ना विद्यार्थीको खाता खोल्न लगाएर सोही खातामा छात्रवृत्तिको रकम पठाउने व्यवस्था गरेको छ ।
स्थानीय तहले तोकेको कोटाभित्र पर्नेगरी पहिलो चरणमा प्रतिविद्यार्थी ६ हजार रुपैयाँ उपलब्ध गराउनेछ । महानिर्देशक न्यौपानेले पहिलो वर्ष ६ हजार रुपैयाँ पाउनेछन् भने हरेक वर्ष कक्षागत रूपमा २४ हजार रुपैयाँसम्म छात्रवृत्ति पाउने जानकारी दिनुभयो । विभागका निर्देशक एवं सूचना अधिकारी निमप्रकाश सिंह राठौरले गतवर्ष ६ कक्षामा छात्रवृत्ति पाएका विद्यार्थीले यो वर्ष ७ कक्षामा र अर्को वर्ष ८ कक्षा हँुदै १० सम्म पाउने जानकारी दिनुभयो । ‘सुरुमा ६ र ९ कक्षामा छनोट हुन्छन् पछि क्रमैसँग छनोटमा परेका विद्यार्थीले माथिल्लो कक्षामा पनि छात्रवृत्ति पाउनेछन्’ –सूचना अधिकारी राठौरले भन्नुभयो । उहाँका अनुसार स्थानीय तहमा आवेदन दिएकामध्ये छनोटमा परेका विद्यार्थीले मात्र छात्रवृत्ति पाउनेछन् ।
यो शैक्षिकसत्रमा छात्रवृत्ति पाउने सूचीमा केही स्थानीय तह भने सामेल भएका छैनन् । ती स्थानीय तहले इमिसमा प्रविष्ट नगरेका कारण शून्य परिणाम आएको हो । देशैभरिका स्थानीय तहमध्ये बूढानीलकण्ठ नगरपालिकाले छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या इमिसमा प्रविष्ट गरेको छैन । त्यस्तै मनाङको मनाङ ङिस्याङ र नार्पाभूमि, महोत्तरीको मटिहानी नगरपालिका, पर्साका छिपहार्मी गाउँपालिका र पार्टिवा सुगौली गाउँपालिकाले छात्रवृत्ति फारम प्रविष्ट गरेको पाइँदैन ।
मनाङको नासोँ गाउँपालिकाले कक्षा ९ मा १ जनाको लागि मात्र छात्रवृत्तिको आवेदन भरेको छ । महोत्तरीको गौशाला नगरपालिकामा कक्षा ६ मा एक जनाले पनि फारम भरेको छैन । त्यस्तै लमजुङको सुन्दरबजार र मध्यनेपाल नगरपालिकाले कक्षा ६ को छात्रवृत्तिको फारम भरेको छैन । दैलेखको दुल्लुमा कक्षा ९ मा आवेदन परेको छैन ।
सामान्यतया आर्थिक रूपमा कमजोर परिवारका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भएका विद्यार्थीलाई सरकारले पढ्नका लागि छात्रवृत्ति प्रदान गर्नेछ । न्यून आय भएका, आर्थिक अवस्था कमजोर भएका, अभिभावक नभएको वा विशेष परिस्थितिमा रहेकालगायत जातिगत र वर्गीय आधारमा छात्रवृत्ति पाउनेछन् ।
विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० अनुसार विपन्न वर्गको परिभाषाअनुसार छात्रवृत्ति रकम विद्यार्थीको बैंक खातामा प्रविष्ट हुनेछ । सरकारको तोकिएको प्रक्रिया र मापदण्डबाट पहिचान भएको आर्थिक रूपमा विपन्न विद्यार्थी विपन्न मानिन्छ ।











प्रतिक्रिया