काठमाडौं ।
विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका तथा मोडल जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले मंगलबार, अगस्ट ११, २०२६ मा पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्।
विवाहको औपचारिक घोषणा रोनाल्डोले सामाजिक सञ्जालमार्फत गरेका हुन्। उनले आफ्ना र जर्जिनाका हातमाथि हात राखिएको र दुवैको औँलामा विवाहको औँठी देखिएको तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको केही समयमै लाखौँ लाइक प्राप्त भएको थियो।
पोर्चुगिज सञ्चारमाध्यमहरूले यसलाई वर्षकै चर्चित विवाहका रूपमा प्रस्तुत गरेका छन्। समारोह निजी राखिएको थियो भने दम्पतीका पाँच सन्तानसमेत समारोहमा सहभागी भएको विवरण सार्वजनिक भएको छ।
गुच्ची स्टोरबाट सुरु भएको प्रेम विवाहसम्म
रोनाल्डो र जर्जिनाको सम्बन्ध करिब एक दशक लामो छ। उनीहरूको पहिलो भेट म्याड्रिडस्थित गुच्चीको एक स्टोरमा भएको थियो, जहाँ जर्जिना बिक्री सहायकका रूपमा काम गर्थिन्। त्यतिबेला रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका थिए।
सम्बन्ध सार्वजनिक भएपछि दुवै लामो समयदेखि सँगै रहँदै आएका थिए। गत वर्ष अगस्ट ११ मै जर्जिनाले इन्गेजमेन्टको घोषणा गरेकी थिइन्। उनले ठूलो हीराको औँठी देखाउँदै विवाहका लागि सहमति जनाएको सन्देश सामाजिक सञ्जालमा राखेकी थिइन्।
ठ्याक्कै एक वर्षपछि उनीहरूले विवाह गरेका छन्।
पाँच सन्तानसहित पारिवारिक जीवन
रोनाल्डो र जर्जिनाका छोराछोरी लामो समयदेखि उनीहरूको पारिवारिक जीवनको महत्वपूर्ण हिस्सा रहँदै आएका छन्। उनीहरूका सन्तानमा एभा मारिया, माटेओ, अलाना र बेला छन् भने रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियर पनि परिवारसँगै छन्। सन् २०२२ मा जर्जिनाले जुम्ल्याहा सन्तान जन्माउँदा छोरा एन्जेलको जन्मकै क्रममा निधन भएको थियो।
फुटबल करिअरको अन्तिम चरणमा व्यक्तिगत जीवनको नयाँ अध्याय
४१ वर्षीय रोनाल्डोले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अल–नस्र हुँदै पोर्चुगलको राष्ट्रिय टोलीबाट विश्व फुटबलमा आफ्नो छुट्टै इतिहास बनाएका छन्।
उनले हालै आफ्नो छैटौँ विश्वकप खेलेका थिए, जुन पुरुष विश्वकपमा सर्वाधिक सहभागिताको कीर्तिमान हो। लियोनल मेस्सीसँगै उनी यो कीर्तिमानमा छन्।
करिब एक दशकको प्रेमसम्बन्धपछि विवाह गरेका रोनाल्डो र जर्जिनाको यो नयाँ अध्यायले विश्वभरका उनका समर्थकबीच समेत ठूलो चर्चा पाएको छ।











प्रतिक्रिया