आङ्देम्बेले उठाए सरकारमाथि युवा रोजगारीको प्रश्न


काठमाडौं ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलनपछि युवामा बढेको आशा सरकारका कामका कारण पुनः निराशामा बदलिन थालेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सन्देश जारी गर्दै उनले रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति प्रश्न उठाए। उनले जेनजीले खोजेको रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने योजना कहाँ पुगेको भन्दै सरकारसँग जवाफ मागे।

आङ्देम्बेले निर्वाचनअघि रास्वपा सभापति रवि लामिछानेले सरकार गठनको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरेको स्मरण गराउँदै साढे चार महिना बितिसक्दा पनि त्यसअनुसार काम हुन नसकेको बताए।

उनले युवालाई मतदाताका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा स्वीकार गर्नुपर्ने भन्दै विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजी परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’को ठोस नीति आवश्यक रहेको बताए।