रौतहट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटका नेता रविन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादवलाई मंगलबार साँझ करिब ७ बजे गरुडा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

सामाजिक सञ्जाल फेसबुकमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले उजुरीका आधारमा घटनाबारे अनुसन्धान गर्न यादवलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
पछिल्लो समय रास्वपा नेता यादवले गरुडा नगर क्षेत्रका विभिन्न समस्या तथा विकृति–विसंगतिका विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए। सोही क्रममा स्थानीय व्यक्तिलाई लक्षित गरी आपत्तिजनक शब्द प्रयोग गरेको आरोप उनीमाथि लागेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यादवको पक्राउपछि घटनालाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ।











प्रतिक्रिया