त्रिविको स्वामित्व रहने गरी सम्झौता गर्ने तयारी

1.5k
Shares

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको सम्झौता गएको वैशाख अन्तिममा सकिए पनि हालसम्म सम्झौता हुन सकेको छैन । सम्झौता हुन नसक्दा आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) कहाँ गर्ने भन्ने विषयमा अन्योल हुनसक्छ ।
तर त्रिविले एनपीएलअघि नै सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । त्रिविले क्रिकेट खेल मैदान आफ्नो स्वमित्वमा रहने गरी सम्झौता गर्ने तयारी गरेको छ । त्रिविका सहकुलपति नै शिक्षा तथा खेलकुदमन्त्री हुनुभएकाले सहमति गर्न जटिल नहुने त्रिविको अनुमान छ ।

यसअघि सम्झौता सकिन १६ दिन बाँकी रहँदा वैशाख पहिलो साता त्रिविले नेपाल क्रिकेट संघ (क्यानलाई) पत्र पठाएको थियो । पत्रको आधारमा क्यानले छलफल सुरु गरेको थियो । त्रिविले क्यानसँग सम्झौता गर्ने पक्षमा छैन । मासिक ५० हजारमा होइन स्वामित्व लिनेगरी सरकारसँग सम्झौता गर्ने तयारी त्रिविको छ । उपकुलपति प्रा.डा. भोला थापाले खेलमैदानमा आफ्नो स्वामित्व र त्रिविलाई लाभ हुनेगरी मात्र सम्झौता हुने जानकारी दिनुभयो ।

उपकुलपति थापाले भन्नुभयो– ‘देशको सम्पत्ति हो, सम्झौता गर्नैपर्छ, मोडालिटीको विषयमा मन्त्रालयसँग छलफल हुन बाँकी छ । त्यसअघि क्यानका पदाधिकारीसँग छलफल गर्ने तयारी गरेका छौँ ।’ सायद त्रिविले अपनत्व रहनेगरी सम्झौता गर्न सक्छ । सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्यानसँग सम्झौता गर्ने विषयमा छलफल गरी निर्णय गर्न त्रिविलाई अधिकार दिनुभएको छ । लगत्तै उपकुलपति प्रा.डा. थापाले छलफल गर्ने तयारीमा हुनुहुन्छ ।

त्रिविमा रेक्टर र रजिस्टार नियुक्ति हुनासाथ सम्झौता गर्ने विषयमा छलफल गर्ने तयारी त्रिविको छ । हाल निमित्तको रूपमा रेक्टर र रजिस्टार छन् । उपकुलपति थापाले क्रिकेट मैदानलगायत त्रिविको सम्पत्ति ओगटेर फिर्ता नगर्ने निकायसँग छलफल गरी जग्गा खाली गर्ने तयारीमा रहेको बताउनुभयो । ‘पहिलो चरणमा क्रिकेट मैदानको टुङ्गो लगाउनेछौँ, त्यसपछि अन्य विषयमा छलफल गर्नेछौँ’ –उपकु्लपति थापाले भन्नुभयो ।

यसअघिका उपकुलपति दीपक अर्यालको कार्यकालमा त्रिविको स्वामित्वमा रहनेगरी सम्झौता गर्ने तयारी थियो । त्रिविले ग्राउण्डको जिम्मेवारी लिएर खेल अवधिको लागि मात्र लिजमा दिने मोडालिटीबारे छलफल भएको थियो । त्रिविले क्यानसँग कहिले सम्झौता गर्ने भन्ने निश्चित भइसकेको छैन ।

त्रिविले ०५९ पुस २४ गते ०८३ वैशाख मसान्तसम्मका लागि सम्झौता गरेको थियो । सम्झौतामा चार किल्ला छुट्याएको तर क्षेत्रफल उल्लेख नगरी सम्झौता भएको थियो । त्रिविले क्यानसँग मासिक ५० हजार रुपैयाँमा भनेजति जग्गा लिजमा लिएको थियो ।

सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्रालयले २०८१ सालमा नै प्रक्रिया अघि बढाएको थियो । त्रिवि क्रिकेट मैदान भाडाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वविद्यालयसँग सिधै सम्झौता गर्न नमिल्ने भएकाले सरकारले सम्झौता गरेर क्यानलाई दिँदै आएको छ ।
मैदानका लागि आवश्यक भौतिक संरचना सबै क्यानले नै बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । सोही सम्झौताअनुसार क्यान, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले संयुक्त रूपमा त्रिवि क्रिकेट मैदानलाई नयाँ स्वरूपमा ल्याएका थिए ।

मैदानमा पहिलो चरणको काम सम्पन्न हुँदा १० हजार क्षमताको प्याराफिट र ६ वटा फ्लडलाइट जडान भइसकेको छ । ०८२ असोज १० मा सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ ।

२०८१ फागुन १९ मा बीकेओआई–केसीडीसी–बीजी जेभीले २०८१ फागुन २० गतेबाट प्याराफिट निर्माण सुरु गरेको थियो । २ महिनाभित्र काम सक्ने गरी ४३ करोड ७७ लाख ३० हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो । सो ठेकेदार कम्पनीले तोकेकै समयमा १० हजार क्षमता भएको प्याराफिट निर्माण गरेको थियो ।

फ्लडलाइड जडान गर्न २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी ज्वाइन्ट भेन्चरले ठेक्का पाएको थियो । ६ वटा फ्लडलाइटमा ७० वटाका दरले ४२० वटा लाइट जडान भइसकेको छ । लाइट जडान भएपछि विभिन्न खेलहरू सम्पन्न भइसकेका छन् ।