काठमाडौँ ।
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस फेरि एकपटक आन्तरिक विवादको निर्णायक मोडमा पुगेको छ । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनबाट बनेको नेतृत्वको वैधानिकतासम्बन्धी मुद्दा पुनरवलोकन गर्न अनुमति दिएपछि पार्टीभित्रको पुरानो शक्ति संघर्ष नयाँ रूपमा सतहमा आएको छ ।
अदालतको पछिल्लो आदेशपछि कांग्रेसभित्र दुई पक्षले आ–आफ्नो राजनीतिक शक्ति देखाउन थालेका छन् । एकातिर सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष महाधिवेशनको तयारी र संगठनात्मक गतिविधि अघि बढाउने पक्षमा देखिएको छ भने अर्कोतिर संस्थापन इतर पक्षले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका महत्वपूर्ण निर्णय रोक्न दबाब बढाएको छ ।
यही विवादबीच पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति थापालाई पत्र पठाउँदै आगामी महाधिवेशनसहित पार्टीका सम्पूर्ण सांगठनिक, राजनीतिक तथा नीतिगत गतिविधि तत्काल रोक्न आग्रह गर्नुभएको छ ।
कोइरालाले मंगलवार केन्द्रीय कार्यसमितिलाई पठाएको तीनबुँदे पत्रमा सर्वोच्च अदालतले साउन २२ गते कांग्रेसको आधिकारिकता तथा नेतृत्वसम्बन्धी मुद्दामा पुनरवलोकनका लागि निस्सा प्रदान गरेको विषयलाई मुख्य आधार बनाउनुभएको छ । अदालतबाट अन्तिम फैसला नआएसम्म पार्टीलाई यथास्थितिमा राख्नुपर्ने उहाँको तर्क छ ।
डा. कोइरालाले आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक तथा प्राविधिक कार्यतालिका तत्काल स्थगित गर्न माग गर्नुभएको छ ।
त्यसैगरी अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक, आर्थिक तथा नीतिगत निर्णय नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
उहाँको तेस्रो आग्रह भने विधिको शासन र अदालतको सम्मानसँग सम्बन्धित छ । अदालतको अन्तिम निर्णय नआएसम्म पार्टीका सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्दै न्यायिक प्रक्रियालाई सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्ने गतिविधि अघि बढाइए त्यसबाट अदालतको अवहेलना वा अन्य कानुनी जटिलता सिर्जना हुन सक्ने चेतावनीसमेत कोइरालाले दिनुभएको छ ।
तर पत्रको भाषाले कांग्रेसभित्रको राजनीतिक दूरी झनै स्पष्ट पारेको छ । शशांकले थापालाई ‘सभापति’ नभनी ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गर्नुभएको छ । यसले विवाद अहिले केवल महाधिवेशनको कार्यतालिकामा सीमित नभई पार्टीको वैधानिक नेतृत्वकै प्रश्नसम्म पुगेको सङ्केत गरेको छ ।
गगन–शेखर संवाद
विवादबीच एकताको खोजी
यता विवाद चर्किरहेका बेला कांग्रेस सभापति गगन थापा र संस्थापन इतर नेता डा. शेखर कोइरालाबीच मंगलवार भेटवार्ता भएको छ ।
केन्द्रीय समिति बैठकअघि भएको भेटमा पार्टीभित्र बढेको बेमेल अन्त्य गर्न कोइरालाले आग्रह गर्नुभएको छ । जवाफमा थापाले आफू पनि एकताबद्ध कांग्रेसकै पक्षमा रहेको बताउनुभएको छ । यो भेटलाई कांग्रेसभित्र बढ्दै गएको विभाजनको जोखिम कम गर्ने प्रयासका रूपमा हेरिएको छ । किनकि अदालतको आदेशपछि संस्थापन र संस्थापन इतर दुवै पक्षले संगठनात्मक गतिविधि तीव्र बनाएका छन् ।
संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दै छ । भेलाका लागि डा. कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । आयोजक पक्षले भेलालाई पार्टीभित्रको वैचारिक तथा सांगठनिक चुनौतीबारे छलफल गर्ने थलोका रूपमा प्रस्तुत गरेको छ । तर अदालतको आदेशपछि यही भेला कांग्रेसभित्रको शक्ति प्रदर्शनको महत्वपूर्ण मञ्च बन्ने देखिएको छ ।
कांग्रेसको वर्तमान विवादमा अर्को महत्वपूर्ण पात्र हुनुहुन्छ पूर्वसभापति शेरबहादुर देउवा । उहाँ स्वदेश फर्कने तयारीमा रहनुभएको छ । सर्वोच्च अदालतले पुनरवलोकनको बाटो खोलेपछि देउवा पक्षको राजनीतिक सक्रियता फेरि बढ्ने सङ्केत देखिएको छ । देउवा स्वदेश फर्किएपछि संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी भएर सम्बोधन गर्ने हुनुभएको छ । यसले कांग्रेसभित्रको समीकरण थप रोचक बनाएको छ ।
एकातिर विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएको दाबी गरिरहेको गगन पक्ष छ । अर्कोतिर त्यसै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्ष छ । बीचमा शेखर–शशांक कोइरालालगायतका नेताहरू छन्, जो एकातिर गगन नेतृत्वको शैलीप्रति असन्तुष्ट देखिन्छन् भने अर्कोतिर कांग्रेस विभाजनको पक्षमा जान नहुने सङ्केत पनि गरिरहेका छन् ।
यसकारण अहिलेको कांग्रेस विवादलाई केवल ‘गगनविरुद्ध देउवा’ वा ‘संस्थापनविरुद्ध इतर’को पुरानो गुटगत समीकरणबाट मात्र बुझ्न कठिन हुँदै गएको छ ।
सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिनुको अर्थ यसअघिको फैसला तत्काल उल्टिएको होइन । अदालतले यसअघि भएको फैसलालाई पुनः परीक्षण गर्ने बाटो मात्र खोलेको हो । अब विशेष महाधिवेशनको वैधानिकता, निर्वाचन आयोगको निर्णय र त्यससँग सम्बन्धित कानुनी प्रश्नमा फेरि सुनुवाइ हुनेछ । तर अदालतको यही निर्णयले कांग्रेसभित्र राजनीतिक अनिश्चितता भने बढाएको छ ।
यसअघि सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो । देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै अदालतको ढोका ढकढक्याएको थियो ।
अहिले पुनरवलोकनको अनुमति पाएपछि त्यही विवाद फेरि प्रारम्भिक अवस्थातर्फ फर्किएको छ । यही कारण डा. शशांक कोइराला तत्कालका लागि सबै गतिविधि रोक्नुपर्ने पक्षमा उभिनुभएको छ भने गगन पक्ष अदालतको अन्तिम फैसला आउनुअघि नै पार्टीको राजनीतिक तथा सांगठनिक जीवन रोक्न नहुने तर्कमा देखिन्छ ।
कांग्रेसभित्र अहिले देखिएको विवादको सबैभन्दा गम्भीर पक्ष भने नेतृत्व कसको हुने भन्ने प्रश्न मात्र होइन । कांग्रेस अब कस्तो पार्टी बन्ने भन्ने प्रश्न हो । देउवा नेतृत्वको लामो राजनीतिक युगपछि थापाको उदयलाई कांग्रेसमा पुस्तान्तरणको संकेतका रूपमा हेरिएको थियो । तर पुस्तान्तरणसँगै संस्थागत निरन्तरता, अनुभवी नेतृत्वको सम्मान र नयाँ पुस्ताको राजनीतिक आकांक्षाबीच सन्तुलन कायम गर्न नसक्दा पार्टीभित्र नयाँ तनाव सिर्जना भएको छ ।
पुरानो पुस्ताले नयाँ नेतृत्वलाई स्वीकार नगर्ने र नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मानजनक स्थान दिन नसक्ने अवस्था बने कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर हुन सक्छ ।
अझ अदालतको फैसलालाई आधार बनाएर एक पक्षले अर्को पक्षलाई वैधानिक वा अवैधानिक ठहर गर्ने राजनीतिक अभ्यास बढ्दै गयो भने कांग्रेसको संगठनभन्दा कानुनी विवाद ठूलो बन्ने खतरा रहेको कांग्रेस नेता चन्द्र भण्डारीले बताउनुभयो ।
नेपालको लोकतान्त्रिक इतिहासमा कांग्रेसको भूमिका केवल एउटा राजनीतिक दलको इतिहास मात्र होइन । त्यसैले कांग्रेसभित्रको विभाजनले कांग्रेसलाई मात्र कमजोर बनाउँदैन, नेपालको लोकतान्त्रिक राजनीतिक प्रणालीमा समेत असर पार्ने भण्डारी बताउनुहुन्छ । अहिले कांग्रेसका दुवै पक्षले शक्ति प्रदर्शनभन्दा संवादलाई प्राथमिकता दिनुपर्ने समय भएको पनि भण्डारीको तर्क छ ।
गगनले नयाँ पुस्ताको ऊर्जा र परिवर्तनको आकांक्षा प्रतिनिधित्व गर्न सक्छन् । देउवासँग लामो राजनीतिक अनुभव र संगठन सञ्चालनको क्षमता छ । शेखर–शशांकसँग कांग्रेसको ऐतिहासिक विरासत र संगठनभित्रको प्रभाव छ । यी सबैलाई प्रतिस्पर्धाको हतियार होइन, कांग्रेस पुनर्निर्माणको आधार बनाउन सकिए विवाद अवसरमा बदलिन सक्ने कांग्रेसका नेता कार्यकर्ताले बताउँदै आएका छन् ।











प्रतिक्रिया