जापान पठाउने भन्दै २ करोड ८० लाख ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सीईओ पक्राउ


काठमाडौं ।

जापान पठाइदिने प्रलोभन देखाएर ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाथोकीले सञ्चालन गर्दै आएको ग्याट्सबी इन्टरनेसनलमार्फत जापान पठाइदिने आश्वासन दिँदै ११५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ संकलन गरेको आरोप छ। रकम लिएपछि तोकिएको प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। त्यसपछि विभागले पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पीडितबाट रकम उठाउने प्रक्रिया, रकम कहाँ र कसरी प्रयोग भयो तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयसमेत खुल्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय जापानमा रोजगारीको आकर्षण बढेसँगै ‘जापान पठाइदिने’ भन्दै ठूलो रकम असुल्ने र प्रक्रिया अघि नबढाई सम्पर्कविहीन हुने घटनाहरू सार्वजनिक हुँदै आएका छन्। यस घटनाले पनि वैदेशिक रोजगारीका नाममा सञ्चालन भइरहेका कन्सल्टेन्सीको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता पुनः देखाएको छ।