काठमाडौँ।
नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहले दिएका विवादित अभिव्यक्तिहरू संसदको अभिलेखबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मण्डलले प्रधानमन्त्रीका भनाइप्रति असन्तुष्टि जनाउँदै सभामुखले यस विषयमा आवश्यक पहल गर्नुपर्ने बताएका हुन्।
सांसद मण्डलले सभामुखलाई संसदको अभिभावकको रूपमा उल्लेख गर्दै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गरी विवादित अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुपर्ने धारणा राखे। प्रधानमन्त्रीको स्वभावका कारण उहाँ आफैँ संसदको रोष्ट्रममा आएर आफ्ना भनाइ फिर्ता लिने सम्भावना कम रहेको उनको भनाइ थियो।
उनले भने, “प्रधानमन्त्री ज्यू जिद्दी स्वभावको हुनुहुन्छ, उहाँ आफैँ रोष्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले सभामुख ज्यूले प्रधानमन्त्रीसँग वार्ता गरी ती भनाइ फिर्ता लिन लगाउन वा संसदको अभिलेखबाट हटाउन पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।”
सभामुखको अनुभव र शालीनताको प्रशंसा गर्दै मण्डलले संसदको गरिमा र मर्यादा कायम राख्न विवादित अभिव्यक्तिहरू अभिलेखबाट हटाउनु उपयुक्त हुने बताएका छन्।











प्रतिक्रिया