स्की संघमा साढे ३४ लाख बजेट पारित


काठमाडौं।

नेपाल स्की संघको सातौँ नियमित साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहनुभएका संघका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित साधारण सभाको बन्द सत्रले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपियाँको वार्षिक बजेट पारित गरेको छ ।

उक्त बजेट राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमहरूमा सहभागिता, प्रशिक्षण सञ्चालन र विन्टर ओलम्पिक्सको पूर्वतयारीमा खर्च गरिनेछ । बन्द सत्रले उपाध्यक्ष रमा भट्टराईद्वारा प्रस्तुत कार्ययोजना, महासचिव विजय श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्नुका साथै बीआर पराजुली एन्ड एसोसिएट्सलाई नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय ग¥यो ।

संघको परिमार्जित विधानअनुसार भौतिकसँगै भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं संघका अध्यक्ष श्रेष्ठले देशमा खेलकुद क्षेत्रभित्र विद्यमान अस्थिरता, अन्योलता र अनावश्यक हस्तक्षेपका कारण अपेक्षाअनुसार सफलता हासिल हुन नसकेको धारणा व्यक्त गरे ।
हिमाली भूभाग र सर्वोच्च शिखर सगरमाथा भएको नेपालमा विन्टर खेलकुदको सम्भावना प्रचुर रहे पनि उचित विकास र प्रवद्र्धन गर्न सके नेपाललाई विश्वमै स्की खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

सोही अवसरमा स्की संघका गतिविधि तथा खेलसम्बन्धी लेखहरू समेटिएको आधिकारिक म्यागेजिन ‘स्नोलाइन’ को पहिलो अंक प्रमुख अतिथि श्रेष्ठलगायत अतिथिहरूले संयुक्त रूपमा अनावरण गर्नुभएको थियो ।