काठमाडौं
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको अवसरमा आयोजित एक अन्तरक्रियात्मक सेमिनारमा दुई देशबीचको दीर्घकालीन मित्रता, पारस्परिक विश्वास तथा भावी सहकार्यका नयाँ सम्भावनाबारे व्यापक छलफल गरिएको छ।
फ्रेन्ड्स अफ सिल्क रोड क्लब, नेपालले आइतबार राजधानीमा आयोजना गरेको “नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सवः उपलब्धि, समसामयिक दृष्टिकोण र भावी सहकार्य” विषयक कार्यक्रममा वक्ताहरूले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र चीनले सार्वभौमसत्ता, भौगोलिक अखण्डताको सम्मान, समानता, शान्तिपूर्ण सहअस्तित्व तथा पारस्परिक लाभका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै आएको उल्लेख गरे। विगत सात दशकमा दुई देशबीच पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, सांस्कृतिक आदानप्रदान, जनस्तरको सम्पर्क, स्वास्थ्य, विपद् व्यवस्थापन तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य विस्तार भएको उनीहरूको भनाइ थियो।

सेमिनारमा विशेष गरी ‘शैक्षिक कूटनीति’ (Academic Diplomacy) को भूमिकामाथि जोड दिइएको थियो। फ्रेन्ड्स अफ सिल्क रोड क्लब, नेपालका महासचिव डा. कल्याणराज शर्माले विश्वविद्यालय, अनुसन्धान संस्था र ‘थिंक ट्यांक’हरूले पारस्परिक समझदारी अभिवृद्धि गर्न, प्रमाणमा आधारित नीति निर्माणलाई सहयोग पुर्याउन तथा दीर्घकालीन बौद्धिक साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।
कार्यक्रममा फुदान विश्वविद्यालयका प्राध्यापक तथा दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक झाङ जियादोङ, युनान विश्वविद्यालयका प्राध्यापक हु सियाओवेन, शाङ्घाई इन्स्टिच्युट्स फर इन्टरनेशनल स्टडिजका अनुसन्धानकर्ता डा. ली होङमेई, हेबेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसका प्राध्यापक झाङ शुबिन, त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक डा. बलराम दुवाल, पूर्व परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटालगायतले दक्षिण एसिया अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, रणनीतिक मामिला, सुशासन, पुरातत्त्व तथा क्षेत्रीय विकासका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा क्षेत्रीय तथा विश्वव्यापी परिवर्तन, विकास साझेदारी, शिक्षा, अनुसन्धान, संस्कृति तथा अन्तर्राष्ट्रिय सम्बन्धका समसामयिक विषयमा विचार आदानप्रदान गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले नेपाल र चीनका विश्वविद्यालय, अनुसन्धान संस्था तथा नीति अध्ययन केन्द्रबीच संयुक्त अनुसन्धान, शिक्षक–विद्यार्थी आदानप्रदान, संयुक्त प्रकाशन तथा शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए। यसले पारस्परिक समझदारी बढाउनुका साथै भविष्यका नीति निर्माणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
वक्ताहरूले भाषा, संस्कृति र जनस्तरका सम्बन्धलाई दुई देशबीचको मित्रताको महत्वपूर्ण सेतुका रूपमा व्याख्या गर्दै सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। शिक्षा, अनुसन्धान, पर्यटन, क्षेत्रीय सम्पर्क, संस्कृति तथा दिगो विकासका क्षेत्रमा नयाँ सहकार्यका अवसर पहिचान गर्न निरन्तर संवाद आवश्यक रहेको उनीहरूको धारणा थियो।

कार्यक्रमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन शैक्षिक तथा संस्थागत साझेदारी विस्तार, निरन्तर बौद्धिक संवाद, जनस्तरको सम्पर्क वृद्धि तथा पारस्परिक हितका नयाँ क्षेत्रहरूमा सहकार्य बढाउनुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले विगत ७१ वर्षका उपलब्धिलाई आधार बनाएर आगामी दिनमा पनि नेपाल–चीन सम्बन्ध शान्ति, स्थायित्व, विकास र साझा समृद्धिको दिशामा अझ गहिरो हुँदै जाने विश्वास व्यक्त गरेका थिए।











प्रतिक्रिया