पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते


काठमाडौँ।

पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

सोमबार बिहान करिब ७ बजे लु.१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जीप चालकसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।