कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : पूर्वसीईओ शाहसहित तीन जना पक्राउ


नेपालगन्ज।

कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार प्रहरीले तत्कालीन सीईओ शाह, उनकी श्रीमती शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरेको हो।

बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी अभियोगमा फरार रहेका उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा बुझाइएको छ।

प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आवश्यक आन्तरिक प्रक्रिया पूरा नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि गरिएको विषयमा अनुसन्धान भइरहेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरेको छ। उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ।

प्रहरीका अनुसार मुद्दाका केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन्। अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायत पनि रहेका छन्।

बैंकको वित्तीय अवस्था लगातार कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।

कर्णाली डेभलपमेन्ट बैंक प्रकरणले बैंकिङ संस्थामा आन्तरिक नियन्त्रण प्रणाली, कर्जा जोखिम व्यवस्थापन, धितो मूल्याङ्कन तथा नियामकीय निगरानी कति प्रभावकारी छन् भन्ने विषयमा गम्भीर प्रश्न समेत उठाएको छ।