अपाङ्ग बाल अस्पतालको करेसाबारी: उपचारसँगै आत्मनिर्भरता र पुनः स्थापनाको नमुना

0
Shares

काभ्रे। 

काभ्रेपलाञ्चोकको बनेपा–११ जनागालस्थित अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्रले बालबालिकाको उपचारसँगै वातावरण संरक्षण, पोषण र आत्मनिर्भरतालाई जोड्ने उदाहरणीय अभ्यास अघि बढाएको छ । 

विशेषगरी जन्मजात क्लब फुट (बाङ्गो खुट्टा) लगायतका शारीरिक अपाङ्गता भएका बालबालिकाको उपचार, शल्यक्रिया, पुनः स्थापना र पुनःसक्रिय जीवनका लागि सेवा दिँदै आएको अस्पतालले अहिले आफ्नै परिसरमा सञ्चालन गरेको जैविक करेसाबारीबाट समेत चर्चा बटुलेको छ । कोभिड–१९ महामारीका बेला अस्पतालका कर्मचारी बाहिर जान नसक्ने अवस्था सिर्जना भएपछि तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. विवेक बास्कोटाको योजनामा सुरु गरिएको करेसाबारी अहिले व्यवस्थित र अर्धव्यावसायिक कृषि प्रणालीका रूपमा विकास भएको छ । अहिले यसले अस्पतालको दैनिक भान्साका लागि आवश्यक अधिकांश ताजा तरकारी उपलब्ध गराउनुका साथै अतिरिक्त उत्पादन कर्मचारीमार्फत बिक्रीसमेत हुने गरेको छ । उत्पादन बढी भएका तरकारीलाई आवश्यकताअनुसार स्टोरेज गरेर पछि प्रयोग गर्ने व्यवस्था पनि मिलाइएको छ ।

अस्पतालमा दैनिक चार सयभन्दा बढी बिरामी, अभिभावक र कर्मचारीका लागि तयार हुने खाना तथा खाजामा यही करेसाबारीमा उत्पादन भएका ताजा तरकारी प्रयोग गरिन्छ । यसबाट अस्पतालको खाद्यान्न खर्च उल्लेखनीय रूपमा घटेको मात्र होइन, उपचारमा रहेका बालबालिकाले विषादीरहित र पोषणयुक्त खाना पाउने वातावरणसमेत बनेको छ । अस्पतालले पूर्ण रूपमा जैविक खेतीलाई प्राथमिकता दिएको छ । भान्साबाट निस्किने कुहिने फोहोरलाई छुट्टै खाडलमा संकलन गरी कम्पोस्ट मल बनाइन्छ भने अस्पताल परिसरमा उम्रिने झारपात र घाँसलाई समेत कुहाएर मल तयार गरिन्छ । रासायनिक मल र विषादी प्रयोग नगर्ने नीति अपनाइएकाले उत्पादन केही कम भए पनि तरकारी स्वादिलो, स्वस्थकर र लामो समयसम्म टिक्ने अस्पतालको अनुभव छ ।

मौसमअनुसार अस्पताल परिसरमा स्कुस, भ्यान्टा, बन्दा, सिमी, बोडी, खोर्सानी, लौका, घिरौँला लगायतका विभिन्न तरकारी उत्पादन गरिएको छ । हिउँदयाममा लसुन तथा अन्य मौसमी बालीको खेती पनि गरिन्छ । त्यसैगरी एभोकाडो, हलुवाबेद, जुनार, केरा, किवी र अम्बा जस्ता फलफूलका बोटले पनि अस्पताल परिसर हराभरा बनेको छ । अस्पतालले आफ्नै नर्सरी सञ्चालन गरी आवश्यक बिरुवाका बेर्नासमेत आफैँ उत्पादन गर्दै आएको छ। बगैचाको नियमित हेरचाहका लागि दुई जना कर्मचारी खटिएका छन् । ‘अस्पतालमा फलेका सबै फलको पहिलो हकदार बालबालिका हुन्’–एचओडी विभाग प्रमुख कमला राईले भनिन–‘बालबालिकाहरुका लागि ताजा फलफुल महत्वपूर्ण हुन्छ । बाँकी रहेका फलफुल विरामीका अभिभावक र अस्पताल परिसर भित्र प्रयोग गर्ने गरिएको छ ।’ 

अस्पतालको भान्सा, बगैचा, सरसफाइ तथा लन्ड्री विभाग प्रमुख (एचओडी) कमला राईका अनुसार उपचार सेवा मात्र होइन, बिरामी र अभिभावकलाई पारिवारिक र आत्मीय वातावरण उपलब्ध गराउने उद्देश्यले यस्ता अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको हो । हरियाली वातावरण, स्वच्छ खाना र खुला परिसरले उपचारमा आउने बालबालिकाको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने गरेको उनको भनाइ छ । अस्पतालमा उपचारका लागि लामो समय बस्नुपर्ने बालबालिकाको शिक्षालाई ध्यानमा राख्दै विद्यालयसमेत सञ्चालन गरिएको छ । उपचार, शिक्षा, पुनः स्थापना र पोषणलाई एउटै स्थानबाट उपलब्ध गराउने अभ्यासले अभिभावकलाई पनि सहजता प्रदान गरेको छ । 

अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्रको मुख्य उद्देश्य जन्मजात वा विभिन्न कारणले शारीरिक अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय उपचार, शल्यक्रिया, फिजियोथेरापी, कृत्रिम अंग तथा सहायक सामग्री, पुनः स्थापना सेवा र सामाजिक पुनःएकीकरणमार्फत आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउनु हो । विशेषगरी क्लब फुट भएका बालबालिकाको समयमै उपचार गरी उनीहरूलाई सामान्य बालबालिकासरह हिँडडुल गर्न सक्षम बनाउने कार्यमा अस्पतालले लामो समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । उपचार सेवासँगै आत्मनिर्भर कृषि, वातावरणमैत्री अभ्यास, जैविक उत्पादन र पोषण सुरक्षालाई जोडेर अस्पतालले स्वास्थ्य संस्था केवल उपचार गर्ने स्थान मात्र नभई दिगो विकास र सामाजिक उत्तरदायित्वको नमुना पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ ।