नुवाकोटमा आपत्कालीन स्वास्थ्य व्यवस्थापनका लागि धुलिखेल अस्पतालको टोली परिचालन


काठमाडौं।

नुवाकोटमा उत्पन्न विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै धुलिखेल अस्पतालले आधारभूत आपत्कालीन स्वास्थ्य व्यवस्थापनका सामग्रीसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

धुलिखेल अस्पतालका डा. शैलेश, श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण गौतम तथा चालक राम वाग्लेसहितको टोली आवश्यक स्वास्थ्य सामग्री लिएर नुवाकोटको विदुरतर्फ प्रस्थान गरेको अस्पतालले जनाएको छ।

टोलीले विदुर नगरपालिकाका स्वास्थ्य संयोजकसँग समन्वय गरी आवश्यक स्वास्थ्य सेवा तथा आपत्कालीन व्यवस्थापनमा सहयोग गर्नेछ। नुवाकोटस्थित धुलिखेल अस्पतालको थानसिङ आउटरीच सेन्टरमा कार्यरत डा. अबिरलसहितको टोलीले पनि स्थलगत रूपमा आवश्यक सहयोग गर्ने जनाइएको छ।

अस्पतालका अनुसार विदुर पुगेर टोलीले स्थलगत अवस्थाको मूल्याङ्कन तथा रिपोर्टिङ गरेपछि आवश्यकताका आधारमा थप स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाइनेछ। विशेषगरी बिरामीको क्लिनिकल व्यवस्थापन तथा सम्भावित रोगको प्रकोप रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिनेछ।

विपद्का कारण स्वास्थ्य सेवामा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न स्थानीय स्वास्थ्य निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने अस्पतालले जनाएको छ।

यसैबीच, धुलिखेल अस्पतालको फरेन्सिक मेडिसिन टोली पनि आवश्यकताअनुसार सहयोगका लागि काठमाडौंमा तयारी अवस्थामा राखिएको छ। डा. पंकजको नेतृत्वमा रहेको उक्त टोलीलाई आवश्यक परे तत्काल परिचालन गरिने अस्पतालले जनाएको छ।

Skip This