विश्वकप: स्पेनका स्टार लामिन यामालको घरमा चोरीको प्रयास


एजेन्सी।

स्पेनका युवा फुटबल स्टार लामिन यामालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास भएको छ। स्पेनलाई विश्वकपको फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको केही समयपछि यो घटना भएको हो।

क्याटालोनिया क्षेत्रीय प्रहरीका अनुसार बार्सिलोनाको बाहिरी क्षेत्र एस्प्लुग्स दे लोब्रेगाटस्थित एक घरमा चोरी गर्ने प्रयास भएको थियो। प्रहरीले गोपनीयताको कारण घरधनीको नाम सार्वजनिक नगरे पनि स्थानीय सञ्चारमाध्यम ला भ्यानगार्डियाले उक्त घर यामालको भएको जनाएको छ।

समाचारअनुसार बालाक्लाभा लगाएका दुई जना घरको पर्खाल नाघेर भित्र पस्ने प्रयास गरेका थिए। तर निजी सुरक्षा गार्डले उनीहरूलाई देखेपछि दुवै जना घटनास्थलबाट भागेका थिए। घटनामा कुनै सामान चोरी नभएको बताइएको छ।

यामालको घर यसअघि स्पेनका पूर्व डिफेन्डर जेरार्ड पिके र कोलम्बियाली गायिका शकिराको स्वामित्वमा रहेकाले पनि चर्चित मानिन्छ। उनीहरू बार्सिलोनामा सँगै बस्दा यही घर प्रयोग गर्थे।

चोरीको प्रयास बुधबार बिहान भएको हो। त्यसको केही घण्टाअघि टेक्सासमा भएको विश्वकप सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा यामालले पेनाल्टी दिलाएका थिए, जसलाई मिकेल ओयारजाबालले गोलमा परिणत गरेका थिए।

यामालले गत सिजन बार्सिलोनालाई ला लिगा उपाधि रक्षा गर्न पनि महत्वपूर्ण योगदान दिएका थिए।

स्पेनले अब आइतबार हुने विश्वकप फाइनलमा अर्जेन्टिना वा इङ्ग्ल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।