उदयपुर ।
दक्षिण एसियाको सबैभन्दा ठूलो जापान सरकारको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ स्थित जलजलेमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग हाल नेतृत्व विहीन अवस्थामा छ ।
२०४४ मा स्थापना भएर २०४९ देखि गैडाछाप सिमेन्टको व्यवसायिक उत्पादन सुरु गरेको सरकारी स्वामित्व भएको उदयपुर सिमेन्ट उद्योग अहिले निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकासमा गएपछि नेतृत्व विहीन अवस्थामा रहेको छ ।
सरकारले यस उद्योगप्रति कुनै पनि चासो नदिएको र त्यहाँ कार्यरत कर्मचारीहरुले पटक पटक नै उद्योगको अवस्था सुधार्न र आर्थिक अवस्था कमजोर भएकोले सहयोग गर्न अनुरोध गरेको भए पनि हालसम्म सुनुवाइ नभएकोले अवस्था अझ दयनीय भएको स्थानीयले आरोप लगाएका छन् ।
उद्योगका कर्मचारीहरले १५ महिनादेखि तलब खान पाएका छैनन् । सञ्चयकोषको रकम, नागरिक लगानी कोषको रकम, विमा वापतको रकम खातामा जम्मा नभएको, चारवर्ष अघिदेखि अवकास पाएका कर्मचारीहरुको उपादान तथा अन्य सेवा सुविधाको रकम उपलब्ध नगराएको, कोइला खरिद गर्न नसकेको, उत्पादन गरेर भण्डारण गरिएको ६ करोड भन्दा बढीको सिमेन्ट प्याक गर्ने बोरा खरिद गर्न नसकेको अवस्था रहेको बताइएको छ ।
उद्योगको सिन्धालीमा रहेको खानी नवीकरण गर्न लाखौ रुपियाँ लागने भएकोले नवीकरण गर्न रकम नभएको अवस्था रहेको, विद्युत प्राधिकरणको करिब ४० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको, मेसिनरी पार्टपुर्जा मर्मत सम्भार गर्न आर्थिक अभाव भएकोले, कतिपय नयाँ मेसिन खरिद गर्नू पर्ने भएको सिमेन्ट उद्योग श्रोतले जनाएको छ ।
यस विषयमा उद्योगका प्रशासन महाशाखा प्रमुख गम्भिरजंग खत्रीले यही असार २४ गतेदेखि निमित्त महाप्रबन्धक कोविद काफ्लेले अनिवाइृ अवकास पाउनु भएकोले अहिले नेतृत्व विहीन अवस्थामा उद्योग रहेको र सरकारले पनि कोही नपठाएको बताउनु भयो ।
उद्योगका मजदुरहरुले पटक पटक नै पत्रकार सम्मेलन गरेर, जिल्ला प्रशासन उदयपुरमा ज्ञापन पत्र बुझाएर उदोगको विद्यमान समस्या समाधान गर्न अनुरोध गरेको भए पनि हालसम्म सुनुवाइ नभएको बताएका छन् ।
अवकास पाएका ८ जना कर्मचारीले आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु परेको अवस्था रहेको छ । अहिले पनि कतिपय अवकास प्राप्त कर्मचारीहरु मध्ये कोही मुटुका विरामी छन, कोही प्यारालाइसिसले थलिएका छन । कोही डायलासिस गराएर बसेका छन् कोही सुगर प्रसर, क्यान्सर जस्ता घातक रोगसँग लडिरहेको अवस्था छ । चरम आर्थिक अभावले गर्दा उपचार नपाई मर्नु पर्ने, छोराछोरीको शिक्षा स्वास्थ्य घर व्यवहार र विभिन्न समस्यामा परेको अवकास प्राप्त वरिष्ठ अधिकृत कुबेर कान्त काफ्लेले बताए ।
उद्योग रहेको त्रियुगा नपा वडा नं ६का वडाध्यक्ष योगेन्द्र बहादुर दाहालले निमित्त महाप्रबन्धकले अवकास पाएको जानकारी भए पनि अहिले को महाप्रबन्धक वा अध्यक्ष सरकारले पठाएको छ आफूलाई जानकारी नभएको बताए ।
वडाध्यक्ष दाहालले केन्द्रीय सरकारले सञ्चालक समिति गठन गर्दा उद्योग रहेको सम्बन्धित नगरपालिका वा गाउँपालिकाको प्रतिनिधिका रुपमा सम्बन्धित वडाको वडाध्यक्षलाई पदेन सदस्यका रुपमा तोक्ने व्यवस्था सरकारले कार्यविधि, निर्देशिका वा नियम कानुनमा उल्लेख गर्नु उचित हुने बताए ।











प्रतिक्रिया