यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ साधारण सभा सम्पन्न


काठमाडौं ।

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाले कम्पनीको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ ।

त्यस्तै, बोनस शेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस शेयर जारी गरिने र त्यसपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

कम्पनीका अनुसार २०८३ साल जेठ मसान्तसम्म प्रधान कार्यालय, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउन्टरसहित कुल १०४ स्थानबाट बीमा सेवा प्रदान भइरहेको छ ।

साधारण सभामा आगामी आर्थिक वर्ष २०८३/८४ मा शेयरधनीलाई अपेक्षित प्रतिफल प्रदान गर्ने तथा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्ने उद्देश्यसहित कम्पनी परिवार सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।