चेतावनीपछि अघि बढ्यो सञ्चारमाध्यम नवीकरण


हेटौंडा ।

बागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रार कार्यालयमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुको नवीकरणको काम सञ्चार रजिष्ट्रार कार्यालयले बल्ल अघि बढाएको छ । आवश्यक प्रक्रियाका लागि अनलाइन सञ्चारमाध्यमहरुलाई सञ्चार रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
आज (असार ३२ गते) भित्र एक हजार रुपियाँ नवीकरण शुल्क तिरेर भौचरको फोटो इमेलमार्फत प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको इमेलमा पठाउने र पछि आधिकारिक कागजातसहित कार्यालयमा सम्पर्क गर्ने गरी सहजीकरण भएको हो ।

यसअघि बागमती प्रदेश सरकारअन्तर्गत सञ्चार रजिष्ट्रार कार्यालयले अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेसपास नवीकरणमा देखाएको उदासिनताप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको थियो । नयाँ आर्थिक वर्ष २०८३-०८४ सुरु हुनै लाग्दासमेत ३ सय २७ अनलाइन र पत्रकारको प्रेसपास नवीकरण प्रक्रिया सुरु नभएको महासंघको बागमती प्रदेश समितिले जनाएको हो ।

प्रदेश कानुनबमोजिम दर्ता भएका अनलाइन र प्रेसपास नवीकरण नगर्नुले सञ्चारमाध्यम बन्द नहुने संवैधानिक प्रावधानमा आघात पुग्ने र प्रेस स्वतन्त्रतामा आँच आउने महासंघको ठहर छ । महासंघले सञ्चारमाध्यमको निर्वाध सञ्चालन र प्रेसपास नवीकरणमा प्रदेश सरकारले देखाएको उदासिनताप्रति आपत्ति व्यक्त गर्दै नवीकरण कार्य यथाशीघ्र सुरु गर्न माग गरेको थियो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशले प्रदेश रजिष्ट्रारको कार्यालय बागमतीमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरु र पत्रकारहरुले लिएका प्रेसपासको नवीकरण नगरे वा उचित निकास नदिए आन्दोलन गर्ने चेतावनी दिएको थियो । महासंघले विज्ञप्ति जारी गर्दै कानुनको अन्यौलता देखाइ प्रदेशमातहत दर्ता भएका अनलाइन सञ्चारमाध्यमको नवीकरण र प्रेसपास नवीकरण नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

महासंघ बागमती प्रदेश समिति अध्यक्ष कृष्ण सारुमगरद्वारा जारी विज्ञप्तिमा प्रदेशमातहत अनलाइन सञ्चारमाध्यम र प्रदेश रजिष्ट्रार कार्यालयबाट जारी गरिएका १ हजार ३ सय बढी प्रेसपास नवीकरण हुन नसकेको उल्लेख गरिएको छ । महासंघले बागमती प्रदेश सरकारअन्तर्गत सञ्चार रजिष्ट्रार कार्यालयमा दर्ता भएका अनलाइन सञ्चारमाध्यम र प्रदेशबाट प्रेसपास लिएका पत्रकारको पास नवीकरण रोकिएकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको थियो ।