काठमाडौं।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताप्रति उदार दृष्टिकोण अपनाउन नसकेको बताएकी छन्।
आइतबार ललितपुरमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको कार्यान्वयन व्यवहारमा कमजोर बन्दै गएको बताइन्। उनले सरकार गठन भएको सय दिन पुगिसक्दा पनि सञ्चार क्षेत्रले सकारात्मक परिवर्तनको अनुभूति गर्न नसकेको टिप्पणी गरिन्।
उनका अनुसार पत्रकारहरूको सूचना पहुँचसमेत क्रमशः सीमित हुँदै गएको छ। सिंहदरबारभित्र मन्त्रालयसम्म पुग्न सहज भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा पत्रकारको प्रवेश सहज नभएको र संसदीय समितिहरूमा समेत सूचना संकलन गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरिन्।
शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब सिर्जना हुने वातावरण बन्दै गएको भन्दै राजनीतिक र आर्थिक शक्ति केन्द्रबाट सञ्चारमाध्यमलाई प्रभावित पार्ने प्रयास भइरहेको आशंका व्यक्त गरिन्।
उनले पत्रकारको संविधानप्रदत्त अधिकार भनेको सूचना प्राप्त गर्ने, तथ्यको पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्ने र स्वतन्त्र रूपमा आफ्नो पेशा निर्वाह गर्ने रहेको उल्लेख गर्दै सरकारले यी अधिकारको प्रभावकारी संरक्षण गर्नुपर्ने धारणा राखिन्।
अध्यक्ष शर्माले विगतका सरकारहरूका पालामा पनि प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रकारका दबाब देखिएको स्मरण गराउँदै लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यमलाई स्वतन्त्र र उत्तरदायी रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताइन्।











प्रतिक्रिया