काठमाडौँ।
वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिँदा नदीको सतह उचालिएको र सहायक नदीहरूको पानी निकास अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा सडक डुबानको समस्या देखिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
असार १८ गतेको अविरल वर्षापछि उपत्यकाका विभिन्न स्थानमा सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि उपत्यका ट्राफिक प्रहरीले विज्ञ टोलीसहित बागमती र यसको सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा बागमती नदीमा डेब्रिज जमेर सतह बढ्दा टुकुचा, धोबीखोला, विष्णुमतीलगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव (ब्याक फ्लो) हुने अवस्था सिर्जना भएको निष्कर्ष निकालिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बागमतीमा थुप्रिएको डेब्रिजका कारण पानीको प्राकृतिक बहाव अवरुद्ध भएको बताए।
उनका अनुसार सहायक नदीको पानी बागमतीमा मिसिन नसक्दा वर्षाको पानी सडकतर्फ फैलिने र त्यसले डुबानको समस्या बढाउने गरेको छ।
काफ्लेले दीर्घकालीन समाधानका लागि बागमती नदीबाट कम्तीमा डेढ मिटर गहिराइसम्म डेब्रिज हटाउनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार त्यसो गर्न सके उपत्यकामा हुने सडक डुबान उल्लेखनीय रूपमा कम हुन सक्छ।
यसैबीच, ट्राफिक प्रहरीको अनुगमन टोलीले बागमतीसहित सहायक नदीहरूको नियमित सफाइ, डेब्रिज व्यवस्थापन तथा ढल र पानी निकास प्रणाली सुधारका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बिहीबारको वर्षापछि सिंहदरबार, न्युप्लाजा, अनामनगर, सिनामङ्गल, गौशाला, तिलगङ्गा र माइतीघरलगायत क्षेत्रका सडक जलमग्न बनेका थिए। प्रतिकूल मौसमबीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यातायात सञ्चालनमा सक्रियता देखाएको जनाएको छ।











प्रतिक्रिया