२४ घण्टामा १,५९२ सवारी कारबाही


काठमाडौं ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३, राइड सेयरिङ गर्ने ८७, रातो बत्ती उल्लङ्घन गर्ने ७४, तीव्र गतिमा सवारी चलाउने ७८, लेन मिच्ने ४७, कालो सिसा प्रयोग गर्ने ८७, नो हर्न क्षेत्रमा हर्न बजाउने ५६, एकतर्फी सडकमा सवारी लैजाने ३२ तथा अन्य विभिन्न कसुरमा एक हजार ५८ जनालाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीले उपत्यकामा सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।